तेलअभिभ । गाजा युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले अघि सारेको प्रस्तावमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असहमति जनाएका छन्। उनले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजा क्षेत्रबाट इजरायली सेना फिर्ता नहुने अडान दोहोर्याएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा अघि बढाइएको योजनामा हमासको निःशस्त्रीकरणसँगै इजरायली सेनाको चरणबद्ध फिर्तीको प्रस्ताव गरिएको छ। तर नेतान्याहुले गाजामा रहेका इजरायली सैनिकलाई फिर्ता बोलाउने कुनै पनि कदमअघि हमासको पूर्ण निःशस्त्रीकरण आवश्यक रहेको बताएका छन्।
अमेरिकाको समर्थनमा बनेको ‘बोर्ड अफ पिस’ ले पनि गाजाबाट इजरायली सेना फिर्ता हुने प्रक्रिया हमासको हतियार पूर्ण रूपमा हटाइएपछि मात्र अघि बढ्ने बताएको छ। यस विषयमा बोर्डका निर्देशक निकोलाय म्लादेनोभ र नेतान्याहुबीच भेटवार्ता समेत भएको थियो।
गाजामा इजरायलले आफ्नो सैन्य उपस्थिति कायम राख्दै आएको अवस्थामा सेना फिर्ती र हमासको निःशस्त्रीकरणमध्ये कुन प्रक्रिया पहिले अघि बढाउने भन्ने विषय नै वार्ताको प्रमुख विवाद बनेको छ। अमेरिकी प्रस्तावले दुवै प्रक्रियालाई जोडेर युद्ध अन्त्य तथा गाजामा नयाँ प्रशासनिक व्यवस्था स्थापना गर्ने लक्ष्य राखेको छ।
नेतान्याहुको पछिल्लो अडानले युद्धविरामलाई स्थायी बनाउने तथा गाजामा राजनीतिक संक्रमण अघि बढाउने अमेरिकी प्रयास थप जटिल बन्ने संकेत गरेको छ। इजरायलले आफ्नो सुरक्षालाई प्राथमिक शर्तका रूपमा अघि सारेको छ भने गाजाको पुनर्निर्माण र दीर्घकालीन राजनीतिक व्यवस्थाका लागि सेना फिर्तीलाई महत्त्वपूर्ण मानिएको छ।