फिक्कल । केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्र उत्पादन हुने बाली थियो । थोरै जग्गामा लगाइने मकैले परिवारको आवश्यकता त पूरा गर्थ्यो, तर त्यसबाट आम्दानी हुने कल्पना उनले गरेका थिएनन् । अहिले भने अवस्था फेरिएको छ ।


गाउँपालिकाको अनुदान, उन्नत जातको बीउ र प्राविधिक सहयोग पाएपछि उनले आठ कट्ठा जमिनमा व्यावसायिक मकै खेती विस्तार गरेका छन् ।


“पहिला घरायसी प्रयोजनका लागि मात्रै थोरै मकै लगाउँथ्यौँ,“ राईले भने, “गाउँपालिकाले उन्नत जातको बीउमा सहयोग गर्न थालेपछि व्यावसायिक खेती सुरु गरेँ।”


अशोक राई मात्रै होइन, चुलाचुलीका सयौँ किसानका लागि अहिले मकै खेती आम्दानीको भरपर्दो आधार बनेको छ । स्थानीय सरकारले सञ्चालन गरेको कृषि जोन कार्यक्रममार्फत अनुदान, प्राविधिक सेवा र बजारको पहुँच विस्तार भएपछि गाउँपालिकाले व्यावसायिक मकै उत्पादनमा उल्लेखनीय फड्को मारेको छ ।


आर्थिक वर्ष २०८२/८३ मा कृषि उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा टिएक्स–३६९ जातको हाइब्रिड मकैको बीउ वितरण गरेको थियो । कार्यक्रमबाट ७०० किसान लाभान्वित भएका छन् । उनीहरूलाई कुल ६ हजार ४५६ किलोग्राम बीउ वितरण गरिएको थियो भने प्रत्येक किसानले बढीमा १६ किलोग्रामसम्म बीउ प्राप्त गरेका थिए ।


गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुवास दाहालका अनुसार वडा नं. १ देखि ६ सम्मका किसानका लागि ४१ लाख ९६ हजार ४०० रुपैयाँ बराबरको बीउ वितरण गरिएको थियो। यसमध्ये २० लाख ९८ हजार २०० रुपैयाँ गाउँपालिकाले अनुदान दिएको थियो भने बाँकी रकम किसानले लागत साझेदारी गरेका थिए ।


दाहालका अनुसार हाल चुलाचुलीमा १०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक मकै खेती भइरहेको छ । वार्षिक करिब २४२ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ ।


“हामी बीउ वितरणमा मात्र सीमित छैनौँ,“ उनले भने, “प्राविधिक परामर्श, तालिम, कृषि सामग्री तथा यान्त्रीकरणका कार्यक्रमले उत्पादन लागत घटाएको छ भने उत्पादकत्व पनि बढाएको छ ।”


चुलाचुली–४ का किसान टिके बुङक्षेन राईका लागि मकै खेती अहिले परिवारको मुख्य आयस्रोत बनेको छ ।


“मकै बिक्रीबाट आएको पैसाले घरखर्च चलाउन र छोराछोरीको पढाइमा धेरै सहयोग पुगेको छ,“ उनले भने, “अरू बालीभन्दा यसमा मेहनतको प्रतिफल राम्रो पाइने रहेछ।”


व्यावसायिक खेती विस्तारसँगै गाउँपालिकाका बाँझो जमिन पुनः खेतीयोग्य बनेका छन् । लहलहाएका मकैबारीले गाउँको स्वरूप नै फेरिएको छ। मकै खेतीको विस्तारसँगै खेतबारीमा श्रमिकको माग बढेको छ भने वैदेशिक रोजगारीबाट फर्किएका केही युवाले पनि कृषि व्यवसाय रोज्न थालेका छन् ।


उत्पादन बढे पनि बजारको अभाव नरहेको किसान उपेन्द्र पौड्याल बताउँछन् ।


“व्यापारीहरू मकै खरिद गर्न गाउँमै आउँछन्,“ उनले भने, “यहाँ उत्पादन भएको मकै झापा, मोरङ र सुनसरीका बजारसम्म पुग्ने गरेको छ।”


पशुपालन व्यवसाय विस्तारसँगै दाना उद्योगबाट मकैको माग बढेकाले किसानको व्यावसायिक खेतीप्रतिको विश्वास थप बलियो बनेको छ ।


किसान सञ्जीव मगरका अनुसार पहिले वर्षभरि खान पुग्ने अन्नका लागि मात्रै मकै लगाइन्थ्यो । “अहिले बजारको माग हेरेर खेती विस्तार गरेका छौँ,“ उनले भने, “आम्दानी सुनिश्चित भएपछि खेतीप्रतिको सोच नै बदलिएको छ ।”


कृषि प्राविधिकका अनुसार चुलाचुलीको हावापानी, उर्वर माटो र पर्याप्त वर्षा मकै खेतीका लागि अनुकूल छन्। नेपालकै दोस्रो प्रमुख खाद्यान्न बाली मानिने मकै अहिले परम्परागत खाद्यबालीमा मात्र सीमित छैन । ढिँडो, रोटी, चिउरा, हलुवा, केक, कुकिज, चिप्सलगायत विभिन्न परिकार तथा पशुदानाका रूपमा यसको प्रयोग बढ्दै गएको छ ।


चुलाचुली गाउँपालिकाले मकैसँगै आलु, अदुवा, बेसार, सिमलतरुल, तरकारी तथा फलफूल खेतीलाई पनि प्राथमिकता दिएको छ । किसानलाई बीउबिजन, सिँचाइ सुविधा, कृषि औजार तथा आधुनिक प्रविधिमा प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन भइरहेका छन् ।


राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चुलाचुली–२ मा ६ लाख रुपैयाँको आलु पकेट कार्यक्रम तथा वडा नं. १ र ५ मा १२ लाख रुपैयाँको अदुवा–बेसार पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै ५० प्रतिशत लागत साझेदारीमा ८ लाख रुपैयाँ बराबरका कृषि सामग्री तथा यान्त्रीकरणका उपकरण वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ ।


गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार कृषि क्षेत्रलाई स्थानीय विकासको प्रमुख आधारका रूपमा अघि बढाइनेछ । “कृषि उत्पादनसँगै किसानको आयआर्जन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यका साथ कृषि अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछौँ,“ उनले भने, “त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ।”


अनुदान, आधुनिक प्रविधि, सुनिश्चित बजार र किसानको बढ्दो आत्मविश्वासले चुलाचुलीमा व्यावसायिक मकै खेतीको नयाँ सम्भावना सिर्जना गरेको छ । परम्परागत निर्वाहमुखी खेतीबाट व्यवसायमुखी कृषितर्फको यात्राले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर र आयमुखी विकासको नमुना बनाउँदै लगेको छ । रासस