विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषध कारोबार तथा ओसारपसारमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगर, ७ सय ९० वटा ट्याब्लेट, ८६ हजार रुपैयाँ र दुई वटा सवारी साधन बरामद गरिएको छ ।
प्रहरीका अनुसार सुनसरीको धरान–११ घर भई हाल इटहरी–४ मा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । यस्तै, अस्थायी प्रहरी पोस्ट जोरसखुवाले धरान–७ का रितेश भुजेललाई ३ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ४७ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ । धरान–३ का शंकर गिरीलाई २ ग्राम ८० मिलिग्राम ब्राउन सुगर र ६ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
धनकुटाको प्रहरी चौकी हिलेले नियमित सवारी जाँचका क्रममा संखुवासभाको धर्मदेवी नगरपालिका–१ का अनिल घिसिङलाई २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
उदयपुरमा प्रहरी चौकी लालपत्ताले प्र.१–०५–००१ प ५९७१ नम्बरको स्कुटरमा सवार त्रियुगा नगरपालिका–१० का दिलिप खड्कालाई प्रतिबन्धित औषधि ओपिडोल र स्पास्मो गरी ४ सय ९० वटा ट्याब्लेटसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कटारीले प्र.२–०१–००१ प ५४७७ नम्बरको मोटरसाइकलमा सवार कटारी–४ का श्याम सहनी र रबिन खड्कालाई ३ सय वटा तापेन्ताडोल ट्याब्लेट तथा ३३ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।