भद्रपुर । झापामा तीनदिनमा ४२ वटा चार पाङ्ग्रे गाडीको कालो सिसा निकालिएको छ ।
आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कालो सिसा प्रयोग गर्ने गाडीविरुद्ध कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सन्तोष राईले बताए । उनले मङ्गलबार १५ वटा, बुधबार ९ वटा र बिहीबार १८ वटा गाडीको कालो सिसा निकालिएको जानकारी दिए ।
कालो सिसा प्रयोग गरेर हतियार, लागूऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार गर्ने तथा फरार अपराधीहरू लुकिछिपी हिँड्ने गरेको पाइएपछि प्रहरीले कडाइ गरेको जनाइएको छ । त्यस्तै विभिन्न हिंसाजन्य र दुव्र्यवहारका घटनाहरू बढ्न थालेका थिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था गरिएको छ ।