विजयपुर । २३ औं राष्ट्रिय धान दिवसको अवसरमा धरान ६ स्थित पानबारीमा रोपाइँ महोत्सव गरिएको छ ।


सोमबार सहभागी कृषि सहकारी संस्थाको आयोजनामा भएको महोत्सवमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले आधुनिक प्रविधि र यान्त्रीकरणमार्फत कृषकलाई कम लागतमा बढी उत्पादन गर्न सक्षम बनाउने सरकारको नीति रहेको बताएका छन् ।


उनले धान खेतीलाई व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । “जलवायु परिवर्तन अहिले किसानका लागि ठूलो चुनौती बनेको छ । खडेरी, असमयको वर्षा र हुरीबतासका कारण धान किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।” मन्त्री मन्सुरीले भने, “यही अवस्थालाई ध्यानमा राख्दै सरकारले आधुनिक कृषि प्रविधि, औजार–उपकरण तथा यान्त्रीकरणमार्फत कम लागतमा बढी उत्पादन गर्ने कार्यक्रम लागू गरेको छ ।”


उनका अनुसार प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरेको ‘किसानसँग प्राविधिक’ कार्यक्रममार्फत सबै जिल्लामा प्राविधिक सेवा उपलब्ध गराइएको छ । आवश्यक पर्दा किसानले सहज रूपमा कृषि प्राविधिकको सेवा लिन सक्ने व्यवस्था गरिएको उनको भनाइ छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाको पनि उपस्थिति रहेको थियो । यस्तै, धरानका विभिन्न विद्यालयका विद्यार्थी, किसान, सामाजिक तथा राजनीतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको सहभागी कृषि सहकारी संस्थाकी अध्यक्ष झुमा राईले जानकारी दिइन् । उनका अनुसार राष्ट्रिय धान दिवसका अवसरमा पानबारीमा प्रत्येक वर्ष रोपाइँ महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवले कृषि संस्कृतिको संरक्षणसँगै युवापुस्तालाई कृषि पेशाप्रति आकर्षित गर्न टेवा पुर्‍याएको विश्वास आयोजकको छ ।

mantri