धरान । नेपाल परिवार नियोजन सङ्घ सुनसरी शाखाले सन् २०२५ मा देशभरका शाखामध्ये सबैभन्दा बढी सेवा दिन सफल भएको छ ।
सङ्घले परिवार नियोजनसम्बन्धी विभिन्न सेवा प्रवाह गर्दै आएको छ । जसमा परिवार नियोजन सेवाका अलावा स्त्री रोगसम्बन्धी सेवा, एचआईभी एड्ससम्बन्धी सेवा, गर्भवती तथा प्रसूतिसम्बन्धी सेवा, यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सेवा, खोप सेवा तथा सुरक्षित गर्भपतन सेवा दिँदै आएको छ । एक वर्षमा सुनसरी शाखाले कुल ७८ हजार ६ सय ५९ सेवा प्रवाह गरेको छ ।
जसमध्ये सबैभन्दा बढी गर्भवती तथा प्रसूतिसम्बन्धी सेवा र सबैभन्दा कम यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सेवा दिएको छ । जसमा २६ हजार ६ सय ८८ वटा गर्भवती तथा प्रसूतिसम्बन्धी सेवा रहेको छ भने यौन तथा प्रजनन् स्वास्थ्य सेवातर्फ एक सय ४१ वटा सेवा प्रवाह गरेको छ ।
सङ्घकी सभापति निर्मला आचार्यका अनुसार नेपालभरिका परिवार नियोजन सङ्घमध्ये सबैभन्दा बढी सेवा सुनसरीले प्रवाह गरेको बताइन् । सोही आधारमा सुनसरीलाई सेवा प्रवाहतर्फ उत्कृष्ट सेवा दिएको भन्दै सम्मान गरेको छ । सङ्घको ४३ औँ केन्द्रीय सभाको अवसरमा शाखा सभापति आचार्यलाई सम्मानित गरिएको हो । उनका अनुसार परिवार नियोजन सेवातर्फ १७ हजार चार सय ८८ वटा, स्त्री रोगसम्बन्धी ११ हजार नौ सय २२, एचआईभी एड्ससम्बन्धी सेवातर्फ सात हजार सात सय २३ वटा, खोप सेवातर्फ २१ हजार ७२ वटा र सुरक्षित गर्भपतन सेवातर्फ एक हजार ३ सय ४८ रहेका छन् ।
सुनसरी शाखा २०३६ सालमा स्थापना भएको हो । सुनसरीको इटहरी र धरान गरी दुई स्थानमा परिवार नियोजन सङ्घले सोव प्रवाह गर्दै आएको छ । धरान क्लिनिकमा थप विशेषज्ञ कन्सल्टेन्ट स्त्रीरोग विशेषज्ञमार्फत् सेवा विस्तार गरिएको उनले जानकारी दिइन् । “यहाँको क्लिनिकबाट सेवाग्राहीहरूले स्थानीयस्तरमै विशेषज्ञ सेवा प्राप्त गरिरहेका छन्” उनले भनिन्, “सङ्घ सुनसरीले विशेषगरी सीमान्तकृत, विपन्न तथा बहिष्कृत समुदायलाई लक्षित गरी समग्र यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।”
धरान र इटहरी क्लिनिकबाट १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा, खोप सेवा, गर्भवती जाँच, स्त्रीरोग सेवा प्रदान गर्दै आएको छ । इटहरी क्लिनिकमा २४ सै घण्टा प्रसूति सेवा र एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको छ । उनका अनुसार आफ््नै पहलमा ७७ जना आजीवन सदस्यहरू थप गरिएको छ । उनले विगतमा भएका विभिन्न सामग्रीहरूलाई बिक्री गरी नयाँ आधुनिक सामग्रीहरू खरिद गरी सेवा प्रवाह गरिँदै आएको बताइन् ।