विजयपुर।
मेची भन्सार कार्यालयबाट
चालु आर्थिक वर्षको
१० महिनामा अलैंचीको
निर्यात वृद्धि भएको छ
भने चियामा सङ्कुचन
आएको छ।
कार्यालयका अनुसार अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ भने चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैंची निर्यात भएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। चालु आ.व.को दश महिनाको अवधिमा चार हजार १ सय ५३ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको हो। सूचना अधिकारी हुमागाईंका अनुसार आ.व. २०८१/८२ को उक्त अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको थियो। चालु आ.व.को दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको छ। उक्त अवधिमा दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ। आ.व. २०८१/८२ को सोही अवधिमा तीन अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
































