वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ को बयरवन बजार आवतजावत गर्ने घेवरचन्द्र गल्ली व्यवस्थापन नहुँदा धुलो खान बाध्य भएको भन्दै स्थानीय रुष्ट भएका छन् ।
बयरवनलाई उदयचोक, सूर्यचोक, सिँचाइ (सुनसरी–मोरङ सिँचाइ योजना) आदि स्थानका जनता धुलो व्यवस्थापन नगरेको भन्दै रुष्ट भएका हुन् । “गल्लीको पूर्व–पश्चिम दुवैतर्फको सडक पिच छ तर बीचमा रहेको गल्लीमा भने वर्षौंदेखि धुलो उडिरहेको छ, हामी दिक्क भएका छौँ”–स्थानीय उदयचोक सरसफाइ अभियान समूहका अध्यक्ष अम्बरराज राईले गुनासो गरे । “जम्माजम्मी ५० मिटरको बाटो छ, सडक अझै पिच बनेको छैन, बाटोमा धुलो उडिरहन्छ तर कसैले चासो दिएनन्, वडादेखि नगरसम्मका जनप्रतिनिधिलाई गुहा¥यौँ, कतै सुनुवाइ भएन”–अध्यक्ष राईले भने ।
फोक्ल्याण्ड टापुको पुल जीर्ण
सोही वडाको हाटखोलास्थित फोक्ल्याण्ड टापु जोड्ने कल्भर्ट पुल जीर्ण बनेको छ । टापुवासीलाई बजारसँग जोड्ने छोटो बाटोको रूपमा रहेको छाउरी खोलास्थित कल्भर्ट दुवै किनारका भित्ताहरू भत्किएका कारण पुल लड्न सक्ने अवस्थामा रहेको स्थानीय ज्येष्ठ नागरिक दुर्गा श्रेष्ठले बताए ।
करिब १० वर्षअगाडि आठ लाख चन्दा उठाएर गाउँलेले निर्माण गरेको उक्त पुल हाल चारैतिर भत्किएर त्रास बढेको श्रेष्ठले बताए । पुल बनाइदिन वडादेखि जिल्लासम्म धाए पनि कतै सुनुवाइ नभएको उनले बताए । “पुल भत्कियो भने बजारसँग हाम्रो सम्पर्क नै टुट्ने खतरा छ”–उनले भने ।
“हामी बत्तीमुनिको अँध्यारो भएका छौँ, सँगै वडा कार्यालय छ तर पुल बनेको छैन, कति भन्यौँ कति”–स्थानीय मीना तामाङले भनिन् । यता वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमले पुलको लागि आवश्यक बजेट विनियोजन गरिदिन नगरलाई पत्र पठाएको बताए ।
































