विराटनगर । भारतसँगको खुला सीमा र फितलो निगरानीको फाइदा उठाउँदै विराटनगरका ट्रान्सपोर्टहरू तस्करीको सामान ओसार्ने ‘सुरक्षित माध्यम’ बन्न थालेका छन् ।
भारतबाट अवैध रूपमा भित्र्याइएका लत्ताकपडालाई यहाँका गोदाममा थुपार्ने र नक्कली बिलबिजक बनाएर ट्रान्सपोर्टमार्फत देशका विभिन्न सहर पु¥याउने गिरोह सक्रिय देखिएको छ ।
शुक्रबार दिउँसो विराटनगर–७ स्थित सातघुम्तीमा रहेको ‘जेबी ट्रान्सपोर्ट’ मा प्रहरीले छापा मारे पछि तस्करीको यो नयाँ जालो उजागर भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उक्त ट्रान्सपोर्टबाट करिब ७ लाख ३० हजार रुपैयाँ बराबरको २० पोका अवैध कपडा बरामद गरेको छ । बरामद सामानमा अनिवार्य हुनुपर्ने ‘भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस) बिल नभएको र बिजकमा मूल्य निकै कम देखाइएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवम् डिएसपी हरिनन्दन चौधरीका अनुसार बरामद कपडा कसको हो भन्ने अझै खुलेको छैन । “हामी अनुसन्धान र खोजतलास गरिरहेका छौँ, बरामद सामान कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ”–उनले भने । यता सुरक्षा स्रोतका अनुसार उक्त सामान गणेश साहको हो । उनले भरिया प्रयोग गरी भारतबाट ‘क्यारिङ’ गराउने र विराटनगरका गोदाममा राखेर नक्कली कागजपत्रका आधारमा पूर्वका सहरहरूमा पठाउने गरेको स्रोतको दाबी छ । यसअघि पनि सत्यनारायण स्कुल अगाडिको ट्रान्सपोर्ट र विमानस्थल मार्ग हुँदै काठमाडौँ लैजान लागिएको अवस्थामा ठुलो परिमाणमा कपडा बरामद गरिसकेको छ । विराटनगर–४ का बब्लु अग्रवालको घरमा मारिएको छापा र त्यहाँ फेला परेको तस्करीको कपडाले पनि व्यावसायिक गोदाम र ट्रान्सपोर्ट कसरी प्रयोग भइरहेका छन् भन्ने पुष्टि गर्छ । ‘अनलाइन व्यापार’ को आवरणमा पछिल्लो समय तस्करहरूले प्रहरीको आँखा छल्न ‘अनलाइन व्यापार’ को आवरण समेत प्रयोग गर्न थालेका छन् । २१ पुसमा विराटनगर–१५ भट्टाचोकबाट प्रहरीले मोटरसाइकलमा ‘नेपाल क्यान मूभ’ लेखिएको ब्याग बोकेका सुनसरी दुहबीका दिनेश माझीलाई दुई लाख सात हजार मूल्य बराबरको ८३ थान साडीसहित पक्राउ ग¥यो । उनले आफू अनलाइन डेलिभरी ब्वाई भएको दाबी गरे पनि बिल र सामानको प्रकृति नमिलेपछि तस्करी पुष्टि भएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नियमित जाँच छल्न तस्करहरूले दिनानुदिन नयाँ र परिष्कृत शैली अपनाइरहेका छन् । “अहिले अनलाइन व्यापारका नाममा नक्कली बिल बनाएर तस्करी गर्ने प्रवृत्ति बढेको छ” कटवालले भने, “यस्ता गतिविधिलाई निरुत्साहित गर्न सीमा र सहरी क्षेत्रमा विशेष निगरानी बढाइएको छ ।” खुला सीमाबाट भित्रिने यस्ता सामानका कारण राज्यले ठुलो परि माणमा राजस्व गुमाइरहेको छ भने वैध रूपमा व्यवसाय गर्नेहरू मारमा परेका छन् । ट्रान्सपोर्ट व्यवसायीहरूले किलोको हिसाबले भाडा लिएर सामान गन्तव्यसम्म पु¥याउने र क्यारिङ गर्नेहरूले व्यापारीसँग ‘पिस’ का आधारमा र कम असुल्ने गरेको पाइएको छ । वैध रूपमा भन्सार तिरेर सामान ल्याउने व्यवसायीहरू तस्करीका सस्तो सामानसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् । “भन्सार छलेर ल्याइएका सामान बजारमा सस्तोमा उपलब्ध हुन्छन्, जसले गर्दा इमानदार व्यवसायी पलायन हुने अवस्था छ”–विराटनगरका एक व्यापारीले गुनासो गरे । डिजिटल कारोबार र ई–कमर्सको बढ्दो प्रभावसँगै त्यसको दुरुपयोग गरेर गरिने यस्ता अवैध गतिविधि रोक्न भन्सार, राजस्व र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ । गिरोहले कहिले कुरियर त कहिले अनलाइन डेलिभरीको नाममा गर्ने यो ‘परिष्कृत तस्करी’ अहिले सीमावर्ती सुरक्षाका लागि मुख्य चुनौती बनेको छ ।
































