धरान । धरान उमपहानगर अन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्डको सम्पूर्ण बिलिङ, आर्थिक र प्रशासनिक कारोबार अनलाइन प्रणालीमार्फत् सञ्चालनमा ल्याइने भएको छ ।
सोमबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा धरान खानेपानी बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले एक साताभित्र बोर्डको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याई बोर्डलाई डिजिटलाइज गर्ने जानकारी दिए । अबदेखि सेवाग्राहीले आय–व्यय विवरण, सूचना, सेवाग्राही फाराम, नयाँ धारा जडान, बिल भुक्तानी र व्यक्तिगत अभिलेख सजिलै अनलाइनमा हेर्न सक्ने व्यवस्था गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।
अध्यक्ष बेघाले वर्तमानमा सेवाग्राहीले कार्यालयमा पुगेर प्रशासनिक काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै छिटोछरितो सेवा प्रदान गरिने बताए । यससँगै लेखा प्रणालीलाई पारदर्शी बनाउन आर्थिक कारोबार डिजिटाइज गरिनेछ भने आवश्यक ऐन, नियम तथा कानून निर्माणको प्रक्रिया पनि सुरु गरिने उनले जनाएका छन् । यसका लागि दियालो टेक्नोलोजीलाई जिम्मेवारी दिइएको छ ।
खानेपानी बोर्डले प्रत्येक महिनाको आफ्नो आर्थिक विवरण पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । सम्मेलनमा धरानको हालको पानी उत्पादन अवस्थाका सम्बन्धमा जानकारी दिँदै अध्यक्ष बेघाले भने, “भूमिगत स्रोतमा सामुदायिक वनका ३ वटा वेलबाट दैनिक १७ लाख लिटर, चारकोसे जङ्गलका ११ वटा वेलबाट दैनिक १ करोड ४० लाख लिटर पानी उत्पादन भइरहेको छ ।’ सतह स्रोततर्फ सर्दू–खर्दूबाट ६० लाख, निसानेबाट ३ लाख, पकुवा खोलाबाट २ लाख र कोकाह उपभोक्तासँगको सम्झौताअनुसार २ लाख, कोकाहबाट १० लाख, नयाँ ट्याङ्कीबाट ४ लाख र भालु खोलाबाट २ लाख लिटर पानी आपूर्ति भइरहेको उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
पुराना स्रोत र डिपवेलबाट हाल धरानमा दैनिक करिब २ करोड ४० लाख लिटर पानी उत्पादन भइरहेको छ । प्रदेश सरकारको सहयोगमा निर्माण भएका तीनवटा नयाँ वेलबाट अनुमानित ४०–५० लाख लिटर पानी थप उत्पादन हुने अपेक्षा गरिएको छ । धरानमा दैनिक करिब ३ करोड लिटर पानी आवश्यक पर्ने जनाइएको छ ।
































