धरान । धरानमा कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ आयोजना हुने भएको छ ।
शारीरिक सुगठन खेलको विकास र विस्तार, प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने, खेलाडीको आर्थिक सशक्तीकरण तथा खेलकुदमार्फत् स्वस्थ नागरिक निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
एलाइनेट जिम धरानको आयोजनामा हुने प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन हुनेछ । प्रतियोगितासम्बन्धी जानकारी बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत् दिइएको हो ।
प्रतियोगिताको पहिलो दिन प्रि–जर्जिङ चरण सञ्चालन गरिनेछ । यस चरणमा प्रत्येक तौल समूहबाट छ–छ जना खेलाडी छनोट गरिनेछ । विभिन्न तौल समूहबाट छनोट भएका जम्मा ३० जना खेलाडी फाइनल चरणमा प्रवेश गर्ने प्रतियोगिता संयोजक तथा एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए ।
फाइनल चरणमा प्रत्येक तौल समूहमा प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्मका खेलाडी निर्धारण गरिनेछ । प्रत्येक तौल समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडी मात्र ओभरअल चरणमा प्रवेश गर्नेछन् । ओभरअल चरणमा सहभागी छ जना खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई पहिलोदेखि छैटौँ स्थानसम्मका विजेता छनोट गरिनेछ । ओभरअल चरणमा प्रथम हुने खेलाडीलाई ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ घोषित गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी तथा ७५ केजीभन्दा माथिका तौल समूह समावेश गरिएका छन् । प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई ट्रफी, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
ओभरअल समूहअन्तर्गत प्रथम हुने खेलाडीलाई एक लाख २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई ४० हजार रुपैयाँ, चौथो हुनेलाई ३० हजार रुपैयाँ, पाँचौँ हुनेलाई २५ हजार रुपैयाँ र छैटौँ हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
































