धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा माघ ४ गते एक नाबालिकासहित पाँचजनाको ज्यान जाने गरी बस दुर्घटना भयो । को.१ ख ७११९ नम्बरको बसमा सवार दुईको मृत्यु हुँदा बसभन्दा बाहिर तीनजनाको ज्यान गयो । १२ जना घाइते भए । दैनिक हुने यस्ता दुर्घटनामा ‘चालकको लापरबाही’ लाई मुख्य कारण मानिएको छ ।

कोशी प्रदेशका दुई जिल्ला झापा र सुनसरीले पुस महिनामा भएका घटनाहरूलाई केलाउने क्रममा यस्तो तथ्य बाहिर ल्याएको छ । पुस महिनामा झापामा कुल एक सय २० दुर्घटना भए । यसमा चालकको लापरबाहीले एक सय ११ वटा दुर्घटना भएको झापा प्रहरीले विश्लेषण गरेको तथ्याङ्कमा उल्लेख छ । यता सुनसरीमा एक सय ३१ वटा दुर्घटना भएकोमध्ये चालकको लापरबाहीले एक सय ४ वटा दुर्घटना भएका छन् । 

यी दुई जिल्लाको एक महिनाको तथ्यले करिब ९० प्रतिशतभन्दा बढी दुर्घटनाको मुख्य कारण ‘चालकको लापरबाही’ लाई मानेको छ । जिल्ला प्रहरी कार्यालय झापाले एक महिनामा भएको दुर्घटनाको तथ्याङ्क विश्लेषणमा सवारी साधनको अवस्थाका कारण जम्मा एउटा मात्रै दुर्घटना भएको देखिन्छ । जबकि दुर्घटनामा एक सय ६२ वटा सवारी साधनहरू दुर्घटनामा परेको देखिन्छ । पुस महिनाभरि ९ जनाको मृत्यु हुँदा एक सय ७३ जना घाइते भएको देखिन्छ । 

कतिपयले सडकका कारणले बढी दुर्घटना हुने गरेको तथ्य सार्वजनिक गरे पनि प्रहरीको विश्लेषणमा यस्तो देखिएको छैन । झापा प्रहरीको तथ्यलाई आधार मान्ने हो भने सडकको अवस्थाका कारण जम्मा दुई वटा दुर्घटना मात्रै भएको देखिन्छ । यस्तै सुनसरीको तथ्यलाई हेर्दा पनि अवस्था त्यस्तै छ । सुनसरीमा भएका एक सय ३१ दुर्घटनामध्ये सडकको अवस्थाका कारण ६ वटा मात्रै दुर्घटना भएका छन् । यता सवारी साधनको अवस्थाका कारण ११ वटा दुर्घटना भएको देखिन्छ । सुनसरीमा पुस महिनाभरि दुर्घटनामा कुल दुई सय ३ वटा सवारी साधन परेको देखिन्छ ।

सङ्ख्यात्मक तथा प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी चालकको लापरबाही नै पहिलो कारण देखिन्छ । प्रहरीका अनुसार तीव्र गति साथै ओभरटेक गर्ने कारणले गर्दा दुर्घटनाहरू बढेको देखिन्छ । ट्राफिक प्रहरीले सचेतनालगायतका कार्यक्रमहरू गरिरहँदा पनि दुर्घटनाको सङ्ख्यामा कमी आउन सकेको छैन । “झापामा कुल चेकिङ ६ हजार पाँच सय २५ वटा गरेकोमा दुई हजार चार सय ४५ वटा सवारी साधनलाई कारबाही गरिएको छ” झापा प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “जसबाट २२ लाख ७७ हजार पाँच सय दुई रुपैयाँ राजश्व सङ्कलन गरिएको छ ।”

यता सुनसरी प्रहरीले जारी गरेको विज्ञप्तिमा दुई हजार चार सय ८० वटा सवारीलाई चेकिङ गरेकोमा एक हजार चार सय ९८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । जसबाट १४ लाख तीन हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरिएको जनाइएको छ । सुनसरीमा पुस महिनामा दुर्घटनाका कारण नौ जनाको मृत्यु भएको देखिन्छ । जसमा दुई सय १४ जना मानिसहरू घाइते भएका छन् । विशेष गरी साना सवारी साधन अर्थात् मोटरसाइकल, स्कुटरहरू बढी दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ ।

एकै दिन तीन जिल्लामा ६ को मृत्यु

बुधबार मात्रै कोशी प्रदेशका विभिन्न क्षेत्रमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोकस्थित सडकमा बाग्मती प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

विराटनगर महानगरपालिका–४ एयरपोर्ट लाइनका ७५ वर्षीया डम्बरकुमारी नेपालको बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो । उनलाई कोशी अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो । यस्तै मोरङकै रतुवामाई नगरपालिका–५ मा गोविन्दपुरतर्फ जाँदै गरेको को.२ त १९३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । ट्याक्टरमा सवार सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय किसनकुमार मण्डल, २० वर्षीय रबिन पासवान र ३५ वर्षीय राज मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बिहान भएको दुर्घटनामा किसनको घटनास्थलमै ज्यान जाँदा रबिनको रङ्गेली अस्पतालमा र राजको कोशी अस्पताल विराटनगरमा बुधबार राति निधन भएको हो । 

झापाको शिवसताक्षी नगरपालिका–६ जामबारीस्थित सडकमा विष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे.१ त ७५६३ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सोही ठाउँका २२ वर्षीय नारायण राजवंशीको ज्यान गएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै इलामको देउमाई नगरपालिका–३ पानीटारस्थित सडकमा प्रदेश १–०१–००१ ह ९७७१ नम्बरको अटो बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ धुसेनीका १८ वर्षीय युनिस लुइँटेलको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।