धरान । मदन भण्डारी राजमार्ग अन्तर्गत चतरा–धरान क्षेत्रको निर्माणाधीन सडक स्थानीयवासीलाई सुविधाभन्दा सास्ती हुने भएको स्थानीयले गुनासो गरेका छन् ।
झण्डाचोकदेखि पटलानी खोला पुलसम्मको सडक जमिनको सतहभन्दा करिब ३ मिटर माथिबाट सडक बन्ने भएपछि सडकमा निस्कन भ¥याङ नै प्रयोग गर्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ । १ नं. वडाका वडाध्यक्ष किसन थापाका अनुसार झण्डाचोकदेखि पूर्व बगुवा क्षेत्रमा बन्दै गरेको सडक जनतालाई सुविधाभन्दा पनि सास्ती हुने बताउँछन् । “स्थानीयको घरभन्दा एक मिटरसम्म उचाइ त ठीकै हो तर ३–३ मिटरसम्मको उचाइ हँुदा स्थानीयलाई निकै असुविधा हुन्छ” वडाध्यक्ष थापाले भने, “सडक आयोजनाले डिजाइन परिवर्तन गरेर अर्को डिजाइन गर्नुपर्छ । आयोजनाले स्थानीयका समस्या पनि बुझ्नु पर्दछ ।”
स्थानीयले सडकका लागि निःशुल्क रूपमा जग्गा पनि दिएका छन् । सडक पनि असुविधा हुने गरी बने उनीहरू पीडित हुने वडाध्यक्ष थापाको भनाइ छ । स्थानीय धनबहादुर कार्कीको ३ कठ्ठा जग्गामा ५ धुर जग्गा मात्रै बचेको पनि उनले सुनाए । आयोजनाले मुआब्जा पनि नदिएको र स्थानीयलाई सास्ती हुने गरी सडक बनाएको वडाध्यक्ष थापाले बताए ।
उक्त क्षेत्रमा करिब एक सय घर रहेको बताइएको छ । बुधबार ५०–६० जनाको समूह वडा कार्यालय पुगेको थियो । आयोजनाका सव–इन्जिनियर अभेन्द्र भगतको उपस्थितिमा छलफलसमेत भएको थियो । छलफलबाट आयोजनाले जमिनको सतहभन्दा एक मिटर मात्र उचाइ बनाएर सडक बनाउने गरी डिजाइन सच्याए मात्र सडक बनाउन दिने निर्णय नै गरेको वडाध्यक्ष थापाले जनाएका छन् ।
यता मदन भण्डारी सडक आयोजना पूर्वी क्षेत्रका प्रमुख कर्णसिंह खत्रीले डिजाइन ड्रोइङ अनुसार काम भइरहेको बताएका छन् । सडक बन्दै गर्दा स्थानीयको चासो र चिन्ता हुनु उचित भएको बताउँदै उनीहरूले भनेजस्तो उचाइ नहुने बताए । “कल्भर्ट बनाएर पानी निकासका लागि जमिनभन्दा केही माथिको उचाइ आवश्यक हुन्छ । ४ लेनको सडकको स्टाण्डरअनुसार बन्नेछ” प्रमुख खत्रीले भने, “सडक निर्माण गर्दा १०–१५ वर्षपछिका समस्या पनि हेर्नुपर्ने हुन्छ । यद्यपि स्थानीयलाई समस्या पर्ने गरिको सडक बन्दैन । उहाँहरूको सुविधाका लागि हामी मिलाएर काम गर्छौं ।”
केही ठाउँमा उचाइ बढे पनि औसतमा एक मिटर उचाइ बढ्ने उनको भनाइ छ । विगत एक महिनादेखि करिब साढे सात किमी सडकको लागि स्लाव बनाउने, रिटेनिङ वाल लगाउने काम भइरहेको छ ।
































