धरान । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा दुई परिवारका ९ नेपालीको ज्यान गएको छ ।
सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको वडाध्यक्ष मेकबहादुर बुडाथोकीले जानकारी दिए । उनीहरु रोजगारीको लागि त्यहाँ पुगेका थिए ।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार पुन २७ गते राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो । घटनामा वर्ष धनबहादुर विक, उनकी श्रीमती कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र काशिराम विक, टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको उनको आफन्त प्रेम विकले जानकारी दिएका छन् ।
धनबहादुर विक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला राति आगलागी भएको बताइएको छ ।
आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका आफन्त राजेन्द्र विक, गंगाराम विक र अर्का एक जना गरी चारजनाको परिवार भागेर बच्न सफल भएका थिए । घरको आर्थिक अवस्था दयनीय भएका कारण टाकुरा बस्तीका केही परिवार अढाई वर्षअघि भारतको हिमाचल गएर मजदुरी गर्दै आएका थिए ।
सिद्धकुमाख २ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले प्रेम विकले फोन गरेपछि घटनाको बारेमा थाहा पाएको बताए । दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको छ । पालिकाले मंगलबार शोक बिदासमेत दिएको थियो ।
































