विराटनगर । विराटनगरका सडकमा वर्षौंदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा) को अस्तव्यस्त र असुरक्षित यात्रालाई व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘सुरक्षित चालक’ अभियान सुरु गरेको छ ।
सडक सुशासन र यात्रु सुरक्षालाई केन्द्रमा राखेर थालिएको यो अभियानले लाइसेन्सविहीन र अवैध सञ्चालनको जोखिम न्यून गर्ने लक्ष्य राखेको छ ।
यस अभियानअन्तर्गत अब विराटनगरमा चल्ने प्रत्येक सफारी चालक ट्राफिक प्रहरीको कम्प्युटर प्रणालीमा अनिवार्य दर्ता हुनुपर्नेछ । नेपालमै पहिलोपटक सुरु गरिएको यो डिजिटल अभिलेख प्रक्रियापछि प्रत्येक चालकलाई एउटा विशिष्ट दर्ता नम्बर प्रदान गरिनेछ । उक्त नम्बर ‘सुरक्षित चालक’ लेखिएको विशेष ज्याकेटको पछाडि स्पष्ट देखिने गरी छापिने व्यवस्था मिलाइएको छ ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार अब यात्रुले चालकको नाम वा सफारी नम्बर खोजिरहनु पर्ने झन्झट हट्नेछ । “ज्याकेटमा रहेको दर्ता नम्बरकै आधारमा चालकको पहिचान खुल्नेछ, जसले गर्दा कुनै समस्या वा गुनासो भएमा यात्रुले सहजै उजुरी गर्न सक्नेछन्” न्यौपानेले भने, “दर्ता हुनुअघि चालकले अनिवार्य रूपमा ट्राफिक नियम र सुरक्षासम्बन्धी विशेष अनुशिक्षण तालिमसमेत लिनुपर्नेछ ।”
विराटनगर भारतीय सीमासँग जोडिएको सहर भएकाले ठूलो सङ्ख्यामा भारतीय नागरिकले अवैध रूपमा सफारी चलाउँदा सुरक्षा जोखिम र आर्थिक पलायनको चुनौती बढ्दै गएको थियो । यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले दर्ताका लागि नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाई अनिवार्य सर्त बनाएको छ । यसबाट नेपाली चालकको रोजगारी सुनिश्चित हुनुका साथै आपराधिक गतिविधिमा सफारीको प्रयोग रोकिने विश्वास लिइएको छ ।
‘विकल्प एन अल्टरनेटिभ’ नामक संस्थाको सर्वेक्षणअनुसार विराटनगरमा मात्रै करिब ८४ प्रतिशत चालक लाइसेन्सविहीन रहेको तथ्य सार्वजनिक भएपछि सरकारले नीतिगत सुधारसमेत गरेको छ । धेरैजसो चालक निरक्षर रहेकाले लिखित परीक्षा उत्तीर्ण गर्न नसक्ने समस्यालाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारले नियमावली संशोधन गरी सफारी चालकका लागि लिखित परीक्षा हटाएको छ ।
अब प्रयोगात्मक (ट्रायल) परीक्षा मात्र उत्तीर्ण गरे पुग्ने व्यवस्थाले हजारौँ श्रमिकलाई कानूनी दायरामा आउन सहज भएको छ । यही पुस १७ बाट सुरु भएको यो दर्ता प्रक्रियामा हालसम्म २ सयभन्दा बढी चालक आबद्ध भइसकेका छन् ।
ट्राफिक प्रहरीले आगामी माघदेखि लाइसेन्स, ब्लुबुक र सुरक्षित चालकको पोसाकविना सफारी चलाउन पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ । ज्याकेटको दुरुपयोग गर्ने वा अरूलाई हस्तान्तरण गर्नेमाथि प्रतिलिपि अधिकार ऐनअनुसार कडा कारबाही गरिने प्रहरीले जनाएको छ ।
“यो अभियान केवल ट्राफिक नियमन मात्र नभएर सडक सुशासन र हजारौँ श्रमिक परिवारको जीवनमा स्थायित्व ल्याउने एउटा नमुना पहल हो” इन्स्पेक्टर न्यौपानेले थपे, “विराटनगरबाट सुरु भएको यो अभियानलाई छिट्टै मोरङ जिल्लाभर विस्तार गरिनेछ, जसले कोशी प्रदेशकै यातायात क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने निश्चित छ ।”
































