विराटनगर । मोरङ उर्लाबारी–२ डुम्रेकी २८ वर्षीया रोशिका श्रेष्ठको दिनचर्या अन्य दिनको जस्तो सामान्य रहेन । घरको चुल्हो–चौको र घरायसी धपेडीलाई थाती राखेर उनी शुक्रबार बिहानै बसपार्कतिर दौडिइन् । उद्देश्य थियो — सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) मा भर्ती हुनु ।

सामाजिक सञ्जालमा शुक्रबारदेखि आवेदन खुल्ने सूचना पाएकी रोशिका एक्लै थिइनन्, साथमा भाइ रोमन पनि थिए । ५२ किलोमिटरको सार्वजनिक बसको थकाइलाग्दो यात्रा पार गरेर उनीहरू विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल ढोकामा आइपुग्दा बिहानको ११ बजिसकेको थियो । तर, त्यहाँको दृश्य देख्दा रोशिका अक्क न बक्क परिन् । उनीभन्दा अगाडि नै सयौँ युवायुवतीहरू जाडोको प्रवाह नगरी लाइनमा बसिसकेका थिए ।

“घरमा बसेर मात्रै के गर्नु ? काम केही छैन” हातमा आवेदन फारम बोकेकी  रोशिकाले भनिन्, “निर्वाचन प्रहरी बन्न पाइयो भने ४० दिनकै भए पनि रोजगारी हुन्छ । यसबाट आउने पैसाले घरखर्च चलाउन सजिलो होला भन्ने आशा छ ।” झण्डै डेढ घण्टाको कसरतपछि मात्रै उनले फारम दर्ता गरेर दर्ता नम्बर लिइन् ।

प्रहरी कार्यालय बाहिरको फुटपाथमा आवेदन फारम भरिदिनेहरूको अर्को सानातिनो व्यापार नै फस्टाएको देखिन्थ्यो । फारम भरिदिएबापत सहयोगीले एक सय रुपैयाँसम्म लिने गरेका थिए । तर, रोशिका र उनका भाइले आफ्नै अक्षरमा विवरण भरे । “भीड देख्दा त डरै लाग्यो, तर नाम निस्किए हुन्थ्यो भन्ने लागेको छ” उनले थपिन्, “अब ४ माघमा छनोटका लागि बोलाइएको छ, त्यही दिनको पर्खाइमा छु ।”

रोशिकाको जस्तै कथा छ मोरङ कानेपोखरी गाउँपालिका–४ की १९ वर्षीया अनिता बुढाथोकी र मुना तामाङको पनि । कक्षा १२ को पढाइ सकेर बसेका यी किशोरीहरूका लागि म्यादी प्रहरीको भर्ना ‘पकेट खर्च’ जुटाउने एउटा सुनौलो अवसर बन्ने छ । “रोजगारी कतै छैन । निर्वाचनमा खटिन पाइयो भने अनुभव पनि हुने र खर्च पनि आउने” अनिताले भनिन्, “हामीजस्ता युवाका लागि यो अल्पकालीन भए पनि राहतको विषय हो ।”

मोरङ प्रहरीका अनुसार आवेदन खुलेको पहिलो दिनमै युवाहरूको उत्साहजनक उपस्थिति छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि कुल ४ हजार ३ सय ८३ जना म्यादी प्रहरी आवश्यक पर्नेमा पहिलो दिन नै ६ सय ६१ जनाले औपचारिक आवेदन दर्ता गराएका छन् ।

जसमा २ सय १७ महिला र ४ सय ४४ पुरुष रहेका छन् । मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुँडाल भन्छिन्, “पहिलो दिनमै सयौंको सङ्ख्यामा युवायुवतीहरू सोधपुछ र फारमका लागि आएका थिए । माघ १ गतेसम्म आवेदन दिने समय भएकाले यो सङ्ख्या अझै बढ्ने निश्चित छ ।”

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठको टोलीलाई आवेदन व्यवस्थित गर्न भ्याई नभ्याई छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका जोकोहीले पनि आवेदन दिन सक्ने व्यवस्थाले गर्दा भर्खरका युवादेखि अधवैंशेहरूसम्म लाममा भेटिन्छन् ।

कोशीको कुन जिल्लामा कति निर्वाचन प्रहरीको माग ?

कोशी प्रदेशका १४ जिल्लाको लागि २३ हजार ४ सय ९ जना निर्वाचन प्रहरीको माग गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापामा ४ हजार ३ सय ८, सुनसरीमा ३ हजार १ सय ४९, इलाममा १ हजार ७ सय ३४ जनाको माग छ ।

त्यसैगरी पाँचथरमा १ हजार १ सय ३१, ताप्लेजुङमा ८ सय ४६, भोजपुरमा १ हजार १, सङ्खुवासभामा ९ सय ९८, खोटाङमा १ हजार १ सय ८६, ओखलढुङ्गामा ८ सय ७७, सोलुखुम्बुमा ८ सय ५१, धनकुटामा ९ सय ८९, तेह्रथुममा ५ सय २० र उदयपुरमा १ हजार ४ सय ४६ जनाको माग रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यतिबेला प्रत्येक जिल्लामा निर्वाचन प्रहरी भर्नाका लागि युवा जमातको भीड जिल्ला प्रहरी कार्यालय परिसरमा छ । यो भीडले नेपालमा युवाहरू कति बेरोजगार छन् भन्ने उजागार पनि गरेको छ ।  एकातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाको भीड छ, अर्कातिर जिल्ला प्रहरी कार्यालयमा ४० दिनको अस्थायी जागिरका लागि उभिएको युवाको लाम । यी दुई दृश्यले नेपालमा युवाका लागि स्थायी र सम्मानजनक रोजगारी अझै टाढाको सपना बनेको छ ।

दैनिक साढे ८ सय रुपैयाका लागि त्यो पनि ४० दिनको म्यादी प्रहरीको यो भीड केवल निर्वाचन सुरक्षाको तयारी मात्र देखिएन, देशको बेरोजगारी अवस्थाको तस्बिर देखिएको छ ।