धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीलाई धनकुटाका पत्रकारहरूले आवश्यक स्रोत–साधनको अभावका कारण अपेक्षित रूपमा काम गर्न कठिनाइ भइरहेको गुनासो गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले शनिबार मन्त्री पराजुलीको सम्मानमा आयोजना गरेको भेटघाटमा यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा धनकुटाका पत्रकारहरूले महासङ्घको संस्थागत विकास, सञ्चार माध्यमहरूको सुदृढीकरण तथा पत्रकारहरूको क्षमता विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सुझाएका छन् ।   

उनीहरूले भौतिक पूर्वाधार र संरचनाको अभाव रहेको कारण भने जस्तो धनकुटेली पत्रकारहरूले नयाँ प्रविधिसँग जुधेर भने जस्तो काम गर्न नसकेको मन्त्री पराजुलीलाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा पत्रकारहरूले नेपाल पत्रकार महासङ्घ धनकुटाको भवन निर्माणका लागि आवश्यक डिपिआर तयार भइसकेको उल्लेख गर्दै त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

साथै, धनकुटा जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमहरूलाई संस्थागत रूपमा सबल बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्नुपर्ने, सञ्चारसम्बद्ध कानून निर्माण गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले धनकुटाले मन्त्री पाएको बर्तमान अवस्थामा पत्रकारहरूको समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेशमा पत्रकारहरूको क्षमता विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चालु आर्थिक वर्षमै कोशी प्रदेशमा आम सञ्चार विधेयक पारित हुने जानकारी दिँदै विधेयक पारित भएपछि पत्रकारहरूको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।