धरान । जेन जी आन्दोलनको क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकाको वारुण यन्त्र (दमकल) मा आगजनी गरी क्षति पुर्याएका कारण मङ्गलबार बिहान भएको आगलागीमा अनुमानभन्दा बढी क्षति पुगेको छ ।
इटहरी उपमहानगरपालिका–६ आइतबारेमा बिहान करिब पौने पाँच बजेतिर सेवारो फ्रेस हाउसबाट विद्युत् सर्ट भई आगलागी भएको थियो । उक्त आगलागीमा दमकल नभएका कारण आगो नियन्त्रण नहुँदा अन्य पसलहरूमा पनि क्षति पुगेको हो । गत भदौ २४ गतेको जेन जीका नाममा गरिएको तोडफोड तथा आगजनीमा दमकलमा पनि क्षति पुगेको थियो । उक्त क्षतिको प्रभाव अहिले आएर देखिएको स्थानीयले बताए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले फ्रेस हाउसबाट सुरु भएको आगलागी अन्यत्र पनि फैलिएको थियो । अन्य पसलमा रहेका सिलिन्डर पड्किए पछि आगो नियन्त्रण बाहिर गएको उनले जानकारी दिए ।
आगलागीमा सेवारो फ्रेस हाउस र खड्का फ्रेस हाउस पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दुवै गरी करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । खड्का फ्रेस हाउसको सटरभित्र राखिएको एक थान मोटरसाइकल पनि जलेको जनाइएको छ ।
डिएसपी हमालका अनुसार नमस्ते फ्रेस हाउस, पूर्वाञ्चल फ्रेस हाउस र गणेश सब्जी पसलमा आंशिक क्षति पुगेको छ । आगलागी हुने बित्तिकै प्रहरी र नेपाली सेना परिचालित भएका कारण अन्य पसलमा क्षति कम भएको थियो ।
प्रहरीका अनुसार धरान, दुहबी र झुम्काबाट गएको दमकलको सहायतामा आगो केही समय पछि नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार आगो करिब दुई घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार नमस्ते फ्रेस हाउसको करिब एक लाख १० हजार, पूर्वाञ्चल फ्रेस हाउसमा पाँच हजार र गणेश सब्जी पसलको करिब ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ६ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
































