धरान । धरान स्थापना भएको वर्षलाई आधार मानेर मनाउँदै आएको धरान डे आज (आइतबार) मनाइँदै छ ।

वि.सं. १९५७ लाई धरान स्थापना भएको हो । सोही समयलाई आधार मानेर प्रत्येक वर्ष धरान डे मनाउँदै आइएको छ । यसपटक पनि धरानमा रहेका जातजाति, भाषाभाषीहरू सहभागी भई र्याली आयोजना गर्दै कार्यक्रम गरिएको छ ।

धरान–१२ पब्लिक हाइस्कुलको छेउबाट निस्किएको र्याली, छाताचोक, सिंहदेवीचोक, पुरानो बजार, माछाभौडी, देशीलाइन भानुचोक, पुतलीलाइन हुँदै पब्लिक हाइ स्कुलको दक्षिणतर्फको गेटबाट कार्यक्रम स्थलमा परिणत भएको थियो ।

धरानमा रहेका विभिन्न जातजातिहरू आआफ्नो जातिगत वेशभुषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन धरानकी समाजसेवी सरला कायस्थले गरिन् । धरान बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रहेको सहर हो ।

यहाँ नेपालमा रहेका १४२ जातिमध्ये ८६ वटा जातजातिहरू बसोवास गर्दछन् । यस्तै आदिवासीमा सूचीकृत भएकामध्ये झण्डै १० भन्दा बढी जातजातिको बसोवास रहेको छ । कार्यक्रममा नेवारी, राई, लिम्बू, तामाङ, शेर्पा, मगर, खसआर्य जातजातिहरूको उपस्थिति रहेको थियो ।































