काठमाडौँ । नक्कली शैक्षिक प्रमाण–पत्र पेस गरेर जागिर खाने नेपाल प्रहरीका उच्च अधिकृतविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । 

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाण–पत्र प्रयोग गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मङ्गलबार मुद्दा दायर गरिएको हो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीको माध्यमिक शिक्षा (एसएलसी) को प्रमाण–पत्र नक्कली रहेको पुष्टि गर्दै आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतको बिहार विद्यालय परीक्षा समिति (BIHAR SCHOOL EXAMINATION BOARD), पटनाबाट ‘सेकेन्डरी स्कुल एक्जामिनेशन’ उत्तीर्ण गरेको भनी पेस गरेको प्रमाण–पत्र (रोल कोड ५५०१, रोल नम्बर ७१८) नक्कली पाइएको छ । अख्तियारले बिहारको उक्त बोर्डसँग पत्राचार गर्दा त्यहाँको अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको र गिरीको दाबी गरिएको ७१८ नम्बरको कुनै अभिलेख नरहेको जवाफ प्राप्त भएको थियो ।

गिरीले सोही नक्कली एसएलसी प्रमाण–पत्रको आधारमा उच्च शिक्षासमेत हासिल गरेको देखिएको छ । उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङ विषयको शैक्षिक योग्यता लिएका थिए । यस्तै २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट बिएस्सी नर्सिङ उत्तीर्ण गरेका थिए । यिनै झुटा प्रमाणपत्रहरू पेस गरी उनले २०५२ पुस १६ गते नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायव निरीक्षक (सइ) पदमा नियुक्ति लिएको पाइएको अख्तियारले जनाएको छ । सोही आधारमा उनले हालको एसएसपी पदसम्म बढुवा लिई राज्यबाट विभिन्न तालिम, तलब र सुविधाहरू लिएको अख्तियारको दाबी छ ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीको यो कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर हो ।

आयोगले गिरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम हदैसम्मको सजाय गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।  सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूले नै नक्कली प्रमाण–पत्र पेस गरी ओहोदा र लाभ प्राप्त गरेको उजुरीमाथि अख्तियारले पछिल्लो समय सक्रियताका साथ छानबिन गरिरहेको छ ।