धरान । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कोशी प्रदेशमा ३० वटा नयाँ टावरहरू थपेको जनाएको छ । 

कोशी प्रदेशका विभिन्न स्थानमा फोरजी टावर थपेको जनाएको हो । फोरजी सेवाको गुणस्तर सुधार तथा सेवा विस्तार योजनाअन्तर्गत नयाँ टावर सञ्चालनमा ल्याइएको जनाएको छ ।

एनसेलको फोरजी नेटवर्कमार्फत् गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवालगायत भोल्टे सेवाको फाइदा सजिलै लिन सक्ने जनाएको छ । सेवाको गुणस्तर सुधार र विस्तार अभियानअन्तर्गत एनसेलले कोशी, मधेश, लुम्बिनी, बागमती प्रदेशलगायत प्रदेशका स्थानीय तहमा आफ्नो फोरजी सेवाका थप टावरहरू जडान गरेको हो ।

कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र इलाममा नयाँ टावर जडान गरिएको एनसेलले जनाएको छ । झापाको गौरादह, अर्जुनधारा, बाह्रदशी, मोरङको रङ्गेली, जहदा, पहरी, सुनसरीको पश्चिम कुसाहा, इनरुवा, बर्जु र इलामको चुलाचुली र देउमाईलगायत विभिन्न स्थानका ग्राहकहरू लाभान्वित भएका छन् ।

यी ३० टावरहरूमध्ये २३ वटा टावर एनसेलले गत दुई महिनामा जडान गरी सञ्चालनमा ल्याएको हो । एनसेलले कोशी प्रदेशमा आठ सय ४० भन्दा बढी टावरहरू जडान गरिसकेको छ । एनसेलले कुल जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी जनतामाझ सेवा पु¥याएको दाबी गरेको छ ।