धरान । धार्मिक वनको क्षेत्राधिकार विपरीत रेस्टुरेन्ट सञ्चालन गरेको पाइएपछि पाँचकन्या डिभिजन वन कार्यालयले भौतिक संरचना भत्काउँदै सातदिनभित्र सम्पूर्ण निजी सम्पत्तिहरू खाली गर्न निर्देशन दिएको छ ।
सुनसरीको धरान–१५ स्थित बाँझगरा सामुदायिक वनछेउमा रहेको किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति धरान–१५ मातहतको ‘साकेला थान’ धार्मिक वन क्षेत्रभित्र करिब दुई वर्षदेखि सञ्चालन गरिँदै आएको सुम्निमा खिम सेकुवा रेष्टुरेन्टको भौतिक संरचना भत्काई खाली गर्न निर्देशन दिएको हो । पटक पटकको पत्राचारलाई बेवास्ता गर्दै आएपछि वन कार्यालयले प्रहरीको सहयोगमा भत्काएको हो । “धार्मिक वन क्षेत्रमा अबाञ्छित गतिविधि भएको पाइएपछि भत्काउन बाध्य भएका हौँ” जिल्ला वन कार्यालय सुनसरीका निमित्त प्रमुख रितेसभूषण बस्नेतले भने, “पाँचकन्या डिभिजनले हटाउनका लागि पटक–पटक पत्राचार पनि गरेको थियो । अटेर गर्दै आएका थिए ।”
धार्मिक वन क्षेत्रमा कुनै पनि खालका गतिविधि गर्न नपाइने प्रावधान छ । निमित्त प्रमुख बस्नेतका अनुसार वन ऐन २०४९ अनुसार धार्मिक वन क्षेत्रमा अन्य खालका गतिविधि गर्न नपाउने प्रावधान छ । “सामुदायिक वनमा पर्यटकीय गतिविधि गर्न पाइन्छ तर धार्मिक वनमा कुनै पनि पर्यटकीय गतिविधि गर्न पाइँदैन”–उनले भने । धार्मिक वन क्षेत्रमा क्षेत्राधिकार विपरीत कल्पना राईले करिब दुई वर्षभन्दा अगाडिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी थिइन् । यस विषयमा मिडियामा पनि समाचारहरू प्रकाशित भएका थिए । एक वर्षअगाडि नै पाँचकन्या सव–डिभिजन वन कार्यालयले तालाबन्दी गरिदिएको थियो । वन डिभिजन कार्यालयले २०८१ मङ्सिर २ गते पत्राचार गरेको थियो ।
बाँझगरा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीका अनुसार सामुदायिक वनले व्यक्तिगत लगानी गरी होटल, रेष्टुरेन्टलगायत खोल्न नपाउने कानूनी प्रावधान रहेको आफूहरूलाई जानकारी रहेको बताए । “तर, त्यहाँ के कार्यविधिअनुसार खोलेका थिए, त्यो हामीलाई थाहा भएन । हामीलाई थाहा भएअनुसार व्यक्तिगत होटल खोल्ने, व्यवसाय गर्ने कुरा चाहिँ सामुदायिक वनभित्र पनि पाइँदैन”–उनले फोनसम्पर्कमा भने ।
पाँचकन्या सव–डिभिजन वन कार्यालय धरानका प्रमुख श्याम सापकोटाले पाँचकन्या सव–डिभिजनले हटाउनुस् भनेर बारम्बार लेखेको पत्रको बेवास्ता गरेपछि सोमबार भत्काइएको बताए । “मौखिक त धेरै पटक भनियो, पत्राचार पनि गरियो । तर सुनुवाइ भइरहेको थिएन । बीचमा माथिसम्म उजुरबाजुर गएछ । हामीलाई भत्काउनू भनेर आदेश आयो” उनले फोनसम्पर्कमा भने, “हामीले धार्मिक वनका समितिलाई तपाईंहरूको केही कुरा छ भने पेश गर्नू भनेर भन्यौँ । उहाँहरूले भत्काउनु भएन । हामी आफै गएर हटाएका हौँ ।” उनका अनुसार जिल्ला वन डिभिजन कार्यालयको समन्वयमा त्यहाँ निर्माण गरिएका टहरा, चुलालगायत सबै सोमबार भत्काइएको छ ।
































