धरान । स्थानीय स्काउट कार्यालय धरान उपमहानगरपालिकाले सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीमा ‘बृहत् साहसिक क्रियाकलाप’ आयोजना गर्ने भएको छ । 

पुस १ गतेबाट सुरु हुने क्रियाकलाप ७ दिनसम्म चल्ने स्थानीय आयुक्त मधुसूदन घिमिरेले जानकारी दिए । स्थानीय स्काउटले पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो । यसअघि प्रदेश स्काउट कार्यालयले इलामको चुलाचुलीस्थित चपेटीमा यस्तो कार्यक्रम गरेको कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले शनिबारको पत्रकार सम्मेलनमा बताए ।

सात दिनसम्म चल्ने कार्यक्रममा स्कुलका बालबालिकाहरूलाई लक्षित गरिएको छ । जसमा हालसम्म कोशी प्रदेशका १० वटा स्थानीय तह सहभागी भइसकेको प्रदेश आयुक्त भण्डारीले जानकारी दिए । 

साहसिक क्रियाकलापतर्फ २० वटा फरक–फरक क्रियाकलापहरू राखिएका छन् । यसबाहेक मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन हुने जनाइएको छ । साहसिक क्रियाकलापमा सुपर म्यान जम्प, ओमेगा जम्प, बेम्बो वाक, बेम्बो ब्यालेन्स, ल्याडर क्लाइम्बिङ, ल्याडर क्रसिङ, नेट क्लाइम्बिङ, स्विङ ब्रिज, टायर क्रसिङ, टायर ब्रिज, बोटिङ, प्लाङ्क वाल, कमाण्डो ब्रिज, मङ्की ब्रिज, आर्चरीजस्ता साहसिक खेलहरू समावेश गरिएका छन् । मनोरञ्जनात्मक कार्यक्रमतर्फ फेस पेन्टलगायतका कार्यक्रम सञ्चालन हुने जनाइएको छ । 

साहसिक क्रियाकलाप कार्यक्रमका संयोजक सहायक राष्ट्रिय प्रशिक्षक सुशील राईले आपत्विपत्को समयमा बालबालिकाहरूमा सानैदेखि अभ्यास गर्ने परम्पराको विकास गर्नका लागि कार्यक्रम गर्न लागिएको हो । सानैदेखि जानकारी भएमा कुनै ठूला खालका समस्याहरू सिर्जना हुँदा आफै भाग्न सक्ने तथा क्षमताको विकास गर्ने उनले बताए ।

पछिल्लो समय बालबालिकाहरू मोबाइललगायतका कुलतमा फसिरहेकाले त्यस्ता कुराहरूबाट हटाउने उद्देश्यले पनि क्रियाकलाप गरिन लागिएको प्रदेश आयुक्त भण्डारीले जानकारी दिए । 

स्थानीय आयुक्त घिमिरेका अनुसार कार्यक्रमको समापनको अवसरमा स्काउटको क्षेत्रमा लामो समयदेखि योगदान दिएका अग्रज व्यक्तित्वहरूलाई सम्मानित गर्ने कार्यक्रमसमेत रहेको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह आङ्बाङले गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय स्काउटले २०४३ सालमा पहिलो पटक पूर्वाञ्चल क्षेत्रीय क्याम्पोरी आयोजना गरेको थियो भने २०५८ सालमा प्रथम पूर्वाञ्चाल ज्याम्बोरेट आयोजना गरेको थियो । यसपश्चात् यस्ता ठूला कार्यक्रमहरू आयोजना नगरिएकाले पनि कार्यक्रम गर्न लागिएको स्थानीय प्रमुख आयुक्त घिमिरेले जानकारी दिए ।