बिर्तामोड | पर्यटकीय क्षेत्र कन्काई नगरपालिकास्थित जामुनखाडीमा शनिवार ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। मुद्रण उद्योग संघ झापाले वनभोजसहितको कार्यक्रममा यस अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ।
संघले आफ्नो अक्षयकोषमा ५०,००० रुपैयाँ योगदान गरी पहिलो अक्षयकोष दाता टीका भट्टराई नेपाललाई सम्मानित गरेको छ। यसैक्रममा, मनकामना स्टेसनरी एण्ड छापाखाना दमककी सञ्चालिका तारा श्रेष्ठलाई महिला उद्यमीको रुपमा सम्मान गरिएको थियो।
कार्यक्रममा संघका विभिन्न सदस्यहरूको योगदानको कदर गर्दै प्रशंसा पत्र वितरण गरिएको थियो। अक्षयकोषमा दुई लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जानकारी अक्षयकोष संयोजक टंक निरौलाले दिएका थिए।
संघका अध्यक्ष रोहित भट्टराई, गोविन्द निरौला, विनोद दाहाल, भानुभक्त खनाल, पुण्यप्रसाद खतिवडा, रमेशकुमार बस्नेत, विष्णु इङ्नाम, राजु पोखरेल, विष्णु बराल, राजकुमार शाह (राजु), याम थुलुङ, अर्जुनबहादुर थापा, टंकप्रसाद निरौला, नारायण मण्डल र भिष्मराज राजवंशीलाई अक्षयकोषमा योगदान गरेकोमा सम्मान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल मुद्रण उद्योग संघका केन्द्रीय उपाध्यक्ष युवराज डाँगी उपस्थित थिए। साधारणसभामा महासंघका कोशी प्रदेश अध्यक्ष लव कुमार घिमिरे, महासंघका सल्लाहकार कृष्ण अधिकारी, कोशी प्रदेश सदस्य नरेश तुम्रोक, तथा टीका भट्टराई नेपालले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन संघका सचिव भानु भट्टले गरेका थिए भने, स्वागत वक्तव्य संघका उपाध्यक्ष कृष्ण राई (याम थुलुङ) ले दिएका थिए।
यस अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल लगायतका प्रमुख उद्योगी तथा प्रतिनिधिहरू पनि उपस्थित थिए।
































