धरान । सिद्धि नेवाः परिषद्को १९ औँ साधारणसभा तथा जग्गादाता स्वर्गीय सिद्धिमान पलिखे तथा स्वर्गीय गङ्गालक्ष्मी पलिखेको १६२ औँ जन्मजयन्ती बुधबार मनाइएको छ । 

साधारणसभाको अवसरमा परिषद्की पूर्व अध्यक्षसमेत रहेकी समाजसेवी सरला कायस्थलाई अभिनन्दन गरिएको छ । तर, स्वास्थ्यको कारण अभिनन्दित व्यक्तित्व सहभागी हुन नसकेको पूर्व अध्यक्ष एवम् सम्मान कार्यक्रमका संयोजक गोकुलप्रसाद श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा परिषद्ले प्रकाशित गर्दै आएको नेवारी पत्रिका इताः पनि विमोचन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि गीतकार श्याम टमोट, भाषाविद् प्रा. डा. टङ्कप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष गाकुलप्रसाद श्रेष्ठ, र अध्यक्ष राजविमल श्रेष्ठले एकसाथ इताः विमोचन गरे । 

उक्त पुस्तकमा नेवारी भाषा, संस्कार र संस्कृतिको बारेमा जानकारीमूलक लेखरचनाहरू रहेका छन् । कार्यक्रममा महासचिव मोहन श्रेष्ठले वार्षिक कार्यप्रगति विवरण तथा महेशकुमार प्रधानले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

यसबीचमा नयाँ अक्षयकोषदाताहरू थपिएको जनाइएको छ । झण्डै २६ लाख रुपैयाँ बराबरको अक्षयकोष विभिन्न दाताहरूले स्थापना गरेको महासचिव मोहन श्रेष्ठले जानकारी दिए । यसैबीच अक्षयकोषबाट विभिन्न छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।