धरान । विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको घटनामा जोडिई पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश दिइएको छ ।
उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडाँैका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा माग गर्ने आदेश सुनाएको छ । पूर्व सभामुख महरालाई भेपमार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ गरिएको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले भन्सार छली र सङ्गठित अपराधको कसूरमा मुद्दा दायर गरेको थियो । २०७९ साल पुस १० गते फ्लाइ दुबईको जहाजमार्फत् नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले दुईवटा सुटकेसभित्र ७३ बट्टामा सात सय ३० वटा भेपमा सुन ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । यस विषयमा महरामाथि पनि आरोप लागे पछि २०८० साल चैत ५ गते कागज गरी छाडिएको थियो ।
उक्त सुन भन्सारकै कर्मचारीले लगेका थिए । भन्सारले नियन्त्रणमा लिएपछि छुटाउनका लागि चिनियाँ नागरिकसँग महरासहित उनको छोरा राहुलको संलग्नता रहेको प्रहरीले दाबी गर्दै आएको छ । भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ । भन्सारका कर्मचारीलाई मुद्दा दर्ता गरेको समयमा प्रहरी र सरकारी न्यायाधीवक्ताको कार्यालयले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।
































