धरान । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार रिहा भएका छन् ।

प्रसाईंको छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदनको आधारमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गरेको छ । प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।

प्रसाईंलाई गत सोमबार मध्यराति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । उनले दिएको अभिव्यक्तिका कारण सार्वजनिक शान्तिमा खलल पुगेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उक्त कसूरमा उनलाई चार दिनको म्याद थप गरिएको शुक्रबार थप पाँच दिनको म्याद लिइएको थियो । प्रसाईंलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

गत मङ्सिर ३ गते निवेदन दर्ता गरिएको थियो । बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार आइतबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो । आइतबारदेखि प्रसाईं संयोजक रहेको नागरिक बचाउ महाअभियानले अनिश्चितकालीन आमहड्ताल र आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । महाअभियानसँग सरकारले शनिबार वार्ता गरेको थियो ।

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच बालुवाटारमा भएको वार्तापछि नेपाल बन्द र आमहड्तालका कार्यक्रमहरू फिर्ता भएका थिए । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा निरन्तर छलफल र सहजीकरण गर्दै जाने सहमति भएपश्चात् फिर्ता भएको थियो ।