धरान । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय शुक्रबार मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत् तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत् चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालबाट जानकारी गराएकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।
यसअघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाता दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए
यता मोरङमा ४४ हजार ३ सय ११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो ।
यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४ सय १३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९ सय ८९ जनाले राष्ट्रिय परिचय–पत्रका माध्यमबाट नाम दर्ता गराएका हुन् ।
अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७ सय ५५ मतदाता रहेका अभिलेख छ ।
यस्तै सुनसरीमा ६ हजार २७ महिलासहित १२ हजार ७ सय २ जना थपिएका छन् । सुनसरीमा २ लाख ७२ हजार २ सय १२ महिलासहित ५ लाख ५० हजार १ सय ५६ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय सुनसरीकी सूचना अधिकारी कुमारी आचार्यले जानकारी दिइन् ।
































