धरान । अष्ट्रेलियामा सामाजिक क्षेत्रमा सक्रिय नेपाली युवा प्रवेश पौडेलले लगातार दोस्रो पटक न्युकासल भोलेन्टियर अवार्ड पाएका छन् ।
उनलाई यो सम्मान अष्ट्रेलियाको सङ्घीय संसद्की उपसभामुख सारोन क्लेडोनले हालै प्रदान गरेकी हुन् । हन्टर बहुसांस्कृतिक समाजको बोर्ड सदस्य रहेका पौडेल करिब ५० वर्षे इतिहास भएको यस संस्थाको बोर्डमा नेपालीमूलका प्रतिनिधि बन्ने पहिलो व्यक्ति हुन् ।
हन्टर बहुसांस्कृतिक समाज न्युकासल, सेन्ट्रल कोस्ट र हन्टर क्षेत्रकै सबैभन्दा ठूलो गैर–नाफामूलक संस्था मानिन्छ । यसले आप्रवासी, युवाहरू, शरणार्थी तथा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ ।
पौडेलले आफू प्रायः हरेक बिहीबार हन्टर मल्टिकल्चरल सेन्टरको कम्युनिटी प्रोग्राममा स्वयम् सेवकको रूपमा सहभागी हुने बताए । उनले भने, “वृद्धवृद्धा, ज्येष्ठ नागरिक र आमा–बाबुलाई स्थानीय क्षेत्र घुमाउन लैजाने, बसमा चढाउने–ओराल्ने, सिटबेल्ट लगाइदिनेदेखि लन्चमा सहयोग गर्नेसम्म सबै काममा म स्वयम्सेवक हुन्छु । हप्ताको एक दिन समुदायका लागि समर्पित गर्दा छुट्टै खालको आत्मसन्तुष्टि मिल्छ । हन्टर क्षेत्रमा बहुसांस्कृतिक स्वयम्सेवकको रूपमा चिनिन पाउँदा खुसी लाग्छ ।”
व्यावसायिक रूपमा लामो समय बैङ्किङ र अकाउन्टिङ क्षेत्रमा अनुभव भएका पौडेल हाल सेभेन फाइनान्स एण्ड होम लोनमा सिनियर क्रेडिट एनालिस्टका रूपमा कार्यरत छन् । उनी क्लिक कन्सल्टिङ, न्युकासलसँग पनि आबद्ध छन् । जसले विद्यार्थीलाई शिक्षा, भिसा र करियर रेडी प्रोग्राममार्फत् सहयोग गर्ने गरेको उनले बताए ।
































