धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं.५ भैसेमा हायस माइक्रोवस दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाँउपालिका वडा नम्बर २ बस्ने वर्ष ८२ की सावित्रा कालाखेतीको रहेका छन् । मृतक सावित्रा घाईते भई उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा विहिवार बिहान ८ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतकको लास तत्काल पोष्टमार्टम हुन नसकेकाले जिल्ला अस्पताल धनकुटामै रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उनले मृतकका आफन्त आएपनि पोष्टमार्टम नभएकाले शुक्रवार मात्र पोष्टमार्टम गरेपछि परिवारले लास वुझेर लाने बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परेर घाईते हुनेहरुमा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ की ११ वर्षीया विनिता राई, ४९ वर्षीया वैकुण्ठी राई, सिलिचोङ–३ का ३९ वर्षीय नरेन्द्रकुमार राई, ३० वर्षीया संगीता राई, ४२ वर्षीया नरमाया राई, १४ वर्षीय जेसन राई, पाँचखपन नगरपालिका–९ की २४ वर्षीया ल्हामु शेर्पा, खाँदबारी नगरपालिका–७ का ५० वर्षीय रत्नबहादुर विक र खाँदबारी–८ की ३८ वर्षीया कल्पना विक घाइते भएका छन् ।

त्यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका–४ का ४४ वर्षीय कैलाश गुप्ता, भोजपुरको षडानन्द नगरपालिका–११ का ३२ वर्षीय विकल कार्की, भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ का ३२ वर्षीय पासाङ शेर्पा, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ की ४४ वर्षीया निर्जला राई, सिन्धुली घर भएका १९ वर्षीय सन्तबहादुर तामाङ, धनकुटाको महालक्ष्मी नगरपालिका–३ की ३० वर्षीया सुजता गिरी र माइक्रो बसचालक ३५ वर्षीय चालक दीपेन्द्र बुढाथोकी घाइते भएका छन् ।

घाइतेमध्ये सुजता गिरी नेपाल प्रहरीको जवान हुन् । घाइतेहरुको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

जिल्लाको पाख्रिबास नगरपालिका वडा नं.५ स्थित भैंसेमा विहिवार बिहान करिब ६ः३० बजे काठमाडौबाट खांदबारी जांदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस दुर्घटना भएको थियो । दुर्घटनाको कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।