भद्रपुर । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी झापाको मुख्य नाका काँकरभिट्टा, भद्रपुर, केचना, बाहुनडाँगी, गौरीगञ्जलगायतका नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको हो । झापासँग सीमा जोडिएको एक सय ४४ किलोमिटर क्षेत्रलाई सशस्त्र प्रहरीले निगरानी बढाएको जनाएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको सशस्त्र प्रहरी बल गण २ झापाका प्रवक्ता सुमन पोखरेलले जानकारी दिए ।
भारत–पाकिस्तानबीचको तनाव देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले सतर्कता अपनाएको डिएसपी पोखरेल बताउँछन् । विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ । सीमामा अलिक बढी कडाइ गरेका कारण सर्वसाधारणलाई दुःख दिएको भन्दै गुनासो आइरहेको उनले जनाए । भारतीय बजार जाने, आफन्त भेटघाट, उपचार गराउने जाने, नाकामा आवतजावत गर्ने व्यक्तिले सास्ती पाएको भन्दै गुनासो आएको उनले बताए ।
भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रूपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको उनले जनाए । अरू समय संयुक्त गस्ती हप्तामा एकपटक गरिए पनि पछिल्लो समय दैनिक गर्ने गरिएको उनले जानकारी दिए । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घूसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको उनको भनाइ छ ।
यसै गरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पेट्रोलिङ गरिएको उनले जनाए । सीमा इलाकामा आवतजावत गर्नेको परिचय–पत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवम् जाँच तथा सूक्ष्म रूपमा खबर सङ्कलन गरिराखेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको उनले जनाए । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बललाई सरकारले कुनै पनि गलत क्रियाकलाप रोक्न अग्र भागमा चेकजाँचसँगै निगरानी बढाउने जिम्मेवारी दिए पछि सीमा नाकामा सुरक्षा कसिलो बनाएको उनको भनाइ छ ।