सामुदायिक विद्यालय अस्तव्यस्त छन्, पढाइ राम्रो हुँदैन भन्ने आम जनमानसको बुझाइ छ । सबै सामुदायिक विद्यालयलाई एउटै नजरबाट हेर्नु हुँदैन । हामी आफैले गरिरहेको अभ्यासबाट भन्न सकिन्छ कि, सामुदायिक विद्यालयमा समस्या अवश्य छन् तर इच्छाशक्ति भए तिनलाई सुधार गर्न सकिन्छ । त्यसका लागि म आफ्नै विद्यालयको उदाहरण प्रस्तुत गर्न चाहन्छु ।
हाल मैले प्रधानाध्यापक भएर नेतृत्व गरिरहेको पब्लिक हाइस्कुल धरानकै सबैभन्दा पुरानो विद्यालय हो । यो विद्यालयले देशका लागि धेरै जनशक्ति उत्पादन गरेको छ । कुनै समय यस विद्यालयका विद्यार्थी एसएलसीमा बोर्ड प्रथम भएका थिए । तर देशको अवस्था र समयक्रमसँगै अन्य सामुदायिक विद्यालय जस्तै यो विद्यालयको अवस्था पनि खस्किएको थियो । धरानकै पुरानो विद्यालयको यो अवस्था देखेर धेरै अभिभावक चिन्तित थिए । सामुदायिक विद्यालयप्रति अविश्वास बढ्दै जाँदा अभिभावकहरूले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पर्ने बाध्यता थियो ।
देशका विभिन्न स्थानमा विद्यालय र अभिभावककै पहलमा सामुदायिक विद्यालयको रूप परिवर्तन भइरहेका समाचार हामीले पनि पढ्दै, सुन्दै आएका थियौँ । त्यही क्रममा हामी शिक्षकहरूले अभिभावकहरूसँग विद्यालयलाई कसरी सुधार्ने ? भनेर पटक–पटक छलफल ग¥यौँ । अभिभावकहरूले पनि साथ दिने भएपछि हामी शिक्षकहरूको पनि आँट बढ्यो । स्थानीय सरकारसँग छलफल गर्दा सकारात्मक जवाफ आयो । धरान उपमहानगरपालिकाकी तत्कालीन कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले शिक्षकहरूलाई अवलोकन भ्रमणको व्यवस्था मिलाइदिनुभयो । त्यसपछि पश्चिम नेपालका नाम चलेका सामुदायिक विद्यालयहरूको भ्रमण ग¥यौँ । त्यसक्रममा हामीले धेरै कुरा सिक्ने अवसर पायौँ । भ्रमणबाट फर्किएपछि शिक्षक र अभिभावकको बैठक राखेर विद्यालय सुधार अभियान चलाउने निर्णय ग¥यौँ । अनि सुरु भयो पब्लिक हाइस्कुलको परिवर्तन ।
हामीलाई विश्वास गरेर अभिभावकले संस्थागत विद्यालयमा पढिरहेका आफ्ना छोराछोरी भर्ना गराउनुभयो । सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरेको छ तर विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक कम छन् । भौतिक पूर्वाधार छैनन् । सरकारले दिएको पैसाले मात्र सुधार गर्न सम्भव देखिएन ।
त्यसपछि अभिभावकको भेला राखेर आर्थिक सहयोगको कुरा राख्यौँ । उहाँहरूले विद्यार्थीको पढाइ राम्रो हुन्छ भने थोरै आर्थिक सहयोग गर्न तयार हुनुभयो । यहाँ सरकारले दरबन्दीका शिक्षकहरूको खर्च गर्ने भएकाले र हामीसँग पर्याप्त खाली ठाउँ भएकाले थोरै सहयोग पाउँदा पनि धेरै काम गर्न सकिने अवस्था बन्यो । अभिभावक भेलाबाट निर्णय गरेर अघि बढ्यौँ । स्थानीय सरकारसँग पनि सल्लाह ग¥यौँ । यसरी सबैसँग सहकार्य गरेर आवश्यक शिक्षक र कर्मचारी थप ग¥यौँ । पढाइको गुणस्तर बढ्दै गएपछि अन्य अभिभावकहरू पनि आकर्षित हुनुभयो ।
हाम्रो काम र मिहिनेतलाई मूल्याङ्कन गरेर सरकारले पनि नमुना विद्यालयमा छनोट ग¥यो । सरकारको यो कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार विकासमा सहयोग प्राप्त भयो । हामीले आवश्यक भवनहरू निर्माण ग¥यौँ । यसपटक सरकारले विज्ञान प्रवद्र्धन कार्यक्रममा हाम्रो विद्यालयलाई छनोट गरेको छ । हामीले गफ मात्र गरेर काम गर्न नसकेको भए सरकारले यसरी निरन्तर सहयोग गर्दैनथ्यो । न त अभिभावकले नै विश्वास गर्नुहुन्थ्यो ।
यसपटकको एसईई परीक्षामा हाम्रो विद्यालय सुनसरी जिल्लामै सामुदायिक विद्यालयतर्फ प्रथम बनेको छ । यो विद्यालय कोशी प्रदेशमा २ हजारभन्दा बढी विद्यार्थी हुने पाँच विद्यालयमध्ये एक हो । अहिले हामीसँग ३ हजार ४ सय ४९ विद्यार्थी छन् । अहिले हामीले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गराइरहेका छौँ । हामीसँग जम्मा १ सय ८० भन्दा बढी शिक्षक कर्मचारी छन् । त्यसमध्ये सरकारले ४० जना शिक्षकको मात्र तलब दिन्छ । बाँकी सबै अभिभावकको सहयोगबाट चलेको छ । विद्यालयमा विद्यार्थीका लागि एक जना नर्स राखिएको छ । ६ वटा बस अभिभावककै सहयोगमा किनिएको छ ।
विद्यालयमा विज्ञान, व्यवस्थापनलगायतका विषय पढाइ हुन्छ । विद्यार्थीहरू कम्प्युटर साइन्स, कम्प्युटर म्यानेज्मेन्ट, ब्युटिपार्लरजस्ता विषयमा आकर्षित छन् । यहाँ कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ पढाइन्छ । यस्ता प्राविधिक विषयको पढाइपछि अभिभावक र विद्यार्थीको आकर्षण अझ बढेको छ । यसरी सबैको साथ सहयोग भएमा अवश्य पनि सामुदायिक विद्यालयलाई परिवर्तन गर्न सकिने रहेछ भन्ने लाग्छ । त्यसका लागि सबैभन्दा महŒवपूर्ण कुरा इच्छाशक्ति चाहिने रहेछ । आफ्नै अनुभवबाट के पनि भन्न सक्छु भने राम्रो काम गर्छु भनेर इमान्दारितापूवर्क मिहिनेत र आँट ग¥यो भने सबैको साथ सहयोग पाइने रहेछ ।
अहिले हामीलाई अभिभावक, विद्यार्थीसँगै स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पनि उत्तिकै साथ सहयोग गरेका छन् । यो साथ सहयोग निरन्तर प्राप्त हुन्छ भन्ने विश्वास पनि छ । राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी पर्याप्त नभएको अवस्थामा अभिभावकले पनि सहयोग गर्ने हो भने अन्य सामुदायिक विद्यालयको पनि कायापलट हुन सम्भव छ ।
(डा.झा, पब्लिक हाइस्कुल धरान–१२ का प्रधानाध्यापक हुन् ।)