वराहक्षेत्रका २२ जना महिलाहरु सीप विकास कार्यक्रमबाट लाभान्वित भएका छन् । उनीहरुले सात दिनसम्म चुरापोते, माला, औंठी, टपजस्ता गरगहना बनाउने घरेलु सीप आर्जन गरे । मंगलबार सात दिने चुरापोते बनाउने तालिम समापन गरिएको छ । 

सीपबाट लाभान्वित भएपछि तालिममा सहभागीले सीपलाई आयआर्जनको बाटो बनाउने बताए । बराहक्षेत्रका महिलाहरुको कला, सीप  र आयआर्जन प्रवर्धनका लागि काम गर्दै आएको बराहक्षेत्र महिला सीप विकास संस्थाले बराहक्षेत्र- १ वडा कार्यालयको आर्थिक सहयोगमा महिलाहरूलाई सीप विकास तालिम प्रदान गरेको हो । 

'तालिममा सहभागी महिलाले विभिन्न प्रकारका माला, रानी हार, पेन्टेन्ट माला, सिम्पल माला, चुरा, औँठी र टप बनाउने तालिम लिएका छन्', प्रशिक्षक सुष्मा राईले भनिन्, 'तालिमले सबैलाई रोजगारी सिर्जना हुनुको साथै बिहे कार्जे र तिजको सिजनमा विशेष माग हुने गरेको छ ।'

प्रशिक्षक राईले सीप विकास कार्यक्रमले महिलाहरु आत्मनिर्भर हुने विश्वास व्यक्त गरिन् । 

वडाध्यक्ष किसन थापाले महिलाहरुमा स्वावलम्वन अभिवृद्धि गर्न, विपन्न महिलाको आर्थिक अवस्था सुधार गर्न साथै सीप विकासका लागि वडाले बजेट विनियोजन गरेको बताए ।सीपको विकास हुँदा समाजमा सकारात्मक परिवर्तन आउने र आयआर्जन गर्नाले अन्य महिलाहरु माझ अनुकरणीय हुने वडाध्यक्ष थापाले बताए । 

वडासदस्य अमिना राईले तालिमपछि सीपलाई आयआर्जनको बाटो बनाउन आग्रह गरिन् ।

सात दिने तालिम कार्यक्रमलाई समापन गर्दै संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष सोनी बिकले तालिमबाट उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा समेत स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताइन् । औपचारिक कार्यक्रम सञ्चालन गर्दै सचिव पवित्रा राईले महिलाको आत्मनिर्भरताका लागि तालिमलगायत कार्यक्रम प्रभावकारी भएको बताइन् । उनले स्थानीय सरकार महिला लक्षित कार्यक्रममा संवेदनशील हुनुपर्ने बताइन् ।

तालिम समापन कार्यक्रममा आगन्तुकलाई कोषाध्यक्ष सविता कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष किसन थापा, सचिव लक्ष्मण पौडेल, वडा सदस्यहरु कुमार भट्टराई, अमिना राईलगायतको उपस्थिति थियो ।