धनकुटा । धनकुटाको छथर जोरपाटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

छथर जोरपाटी गाउँपालिका वडा नं. ४ पाथीभरा डाँडामा सिधुवाबाट मलामी लिएर त्रिवेणीघाटतर्फ जादै गरेको को १ त ७३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका वडा नं. ५ का ४२ वर्षिय विरबहादुर खनालको मृत्यु भएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिए ।

दुर्घटनामा परि १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर भएका चार जनालाई धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान पठाइएको प्रहरी नायब उपरिक्षक महर्जनले जानकारी दिए ।

अन्य १५ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा छथर जोरपाटी गाउँपालिका ५ का ६–वर्षिय ढकबहादुर घिमिरे, छथर जोरपाटी गाउँपालिका ४ का ४३ वर्षिय अर्जुन थापा, सोही ठाउँका ४६ वर्षिय रेगिन्द्र अधिकारीलाई थप उपचारको लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

चालकले इन्जिन चालु अवस्थामा ट्रयाक्टर रोकेर पिसाब फेर्न गएको बेला एक जना यात्रुले ट्रयाक्टर चढ्दा गियर समाएर चढ्न खोज्दा ट्रयाक्टर गुडेर दुर्घटना भएको बताइएको छ । अधिकांश घाईतेहरु अधिकारी टोलका परेका छन् ।