विराटनगर । विराटनगर–१४ जतुवाको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योप प्रा.लि.ले ‘परम’ घिउ जापान निर्यात गर्न सुरु गरेको छ ।

२०७६ साल फागुनमा स्थापना भएको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग प्रा.लि.ले आइतबार एक कार्यक्रम गरी जापानतर्फ घिउ पठाएको जानकारी दिएको छ । पहिलो चरणमा १२ सय किलो परम नामको घिउ जापान पठाएको उद्योगका सञ्चालक मनोज यादवले बताए । ‘अहिले प्रतिमहिना ५ हजार किलो घिउको माग आएको छ’ उद्योगका सञ्चालक यादवले भने, ‘अहिले चाहिँ ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाएका हौँ । अर्को महिनादेखि प्रतिमहिना ५–५ हजार किलो घिउ गरेर वार्षिक ५० मेट्रिक टन पठाउने सम्झौता गरेका छौँ ।’

गतवर्ष दूध अत्यधिक उत्पादन हुँदा उक्त उद्योगमा धूलो दूध अत्यधिक उत्पादन भएको थियो । धूलो दूध उत्पादनका क्रममा उक्त उद्योगमा अहिले पनि ७० हजार किलो अर्थात् ७ करोड रुपैयाँ मूल्यभन्दा बढीको माल स्टकमा छ । पूर्वका विभिन्न ९ वटा डेरी उद्योगहरूमा नौनी र धूलो दूधको स्टक अत्यधिक बढ्दा किसानले भुक्तानी पाउन नसकेको अवस्था थियो भने उद्योगहरू उत्पादित वस्तु नबिकेर हैरान बनेका थिए ।

‘हामीसँग आजको दिनमा पनि ७० हजार किलो नौनी छ । नियमित उत्पादन पनि भइरहेको छ । त्यति हामीले उत्पादन गरेर नियमित दिन सक्छौँ भन्ने हाम्रो प्रतिबद्धता हो’–उनले भने । विगतका दिनमा डिडिसीले जापानमा घिउ पठाउने गरेको थियो । तर, मागअनुसारको माल पठाउन नसक्दा उक्त सम्झौता रद्द भएको आफूले थाहा पाएको यादवले बताए । ‘त्यसबाट पाठ सिकेर भए पनि हामीले उहाँहरूको डिमाण्डलाई पूरा गर्ने हामीले प्रतिबद्धता गरेका छौं’ उनले भने, ‘सिजनमा उत्पादन भएको नौनीलाई स्टक गरेर भए पनि डिमाण्ड पूरा गर्न सक्छौँ । हाम्रो क्षमताभन्दा ५० प्रतिशत कम मात्रै पठाउन लागेका हौँ । उहाँहरूले कति पु¥याउनुहुन्छ भनेर प्रश्न गर्नुभएको थियो । हामीले जति दिनसके पनि लैजाने भन्नुभएको छ । तर, हामीले जति सक्छौँ, त्यति मात्रै दिन्छौँ भनेका छौँ ।’

जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेड जापानसहित ६–७ वटा देशमा सामान निर्यात गरिरहेको कम्पनी हो । सोही कम्पनीसँग घिउ निर्यातको सहमति भएको यादवले बताए । ‘जापानमा हामीले नियमित घिउ पठाउन सक्यौं भने बङ्गलादेश, न्यूजील्याण्डमा पनि सोही संस्थाले बजार खोजिदिने भन्नुभएको छ’–यादवले भने । आफ्नो डेरी उद्योगमा दूध, दही, घिउ, बटर र पनिर गरेर २० हजार लिटर दैनिक प्रशोधन गर्ने क्षमता रहेको यादवले दाबी गरे । त्यसमध्ये अहिले पनि उक्त उद्योगले पाउडर प्लान्ट २४ घण्टै चलाएको छ ।

विगत वर्षको जस्तो दूध बढी नभए पनि कम पनि नभएको उनले बताए । कोशी प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि सो उद्योगले आफै बजार खोजेर जापानमा घिउ पठाउन थालेको छ । प्रदेश सरकारले उक्त उद्योग खोल्दा २ करोड अनुदान दिएको थियो । प्रदेश सरकारले अहिले विदेश निर्यात गरेको अवस्थामा प्रतिकिलो घिउमा १ सय २०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ । त्यसका लागि कृषि मन्त्रालयले ४ करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ । पद्मा कर्पोरेसन लिमिटेडले सुरुमा सो कम्पनीका ३२ वटै आउटलेटमा नेपालको घिउ लिइदिने जनाएको यादवले सुनाए ।

त्यसको लागि सुरुमा ४ वटा प्रोडक्ट चिया, मह, चिउरा र घिउको माग गरेअनुसार आफूले खरिद गरेर ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाउन लागेको उनले बताए । ‘यहाँ उत्पादन लागत १५ हजार पर्ने सामान भारतमा ८ हजारमा पाउँछ । ७ हजारको फरक भएपछि खुल्ला नाका हामीले कन्ट्रोल गर्न सकेकै छैनौँ’ यादवले भने, ‘३ डलरमा न्यूजील्याण्डबाट बङ्गलादेशमा प्रतिकिलो पाउडर आएको छ । यहाँबाट त त्यतिमा पठाउन सक्दैनौं । हाम्रो उत्पादन लागत नै बढी छ । भारतमा ४ सय प्रतिकिलोमा घिउ पाउँछ । तर, यहाँ त्यतिमा उत्पादन गर्नै सकिँदैन ।

त्यसकारण उत्पादन लागत घटाउनका लागि सरकारले सहयोग गर्नुपर्छ ।’ कोशी प्रदेश कृषि मन्त्रालयका सचिव डा. लेखराज दाहालले प्रदेश सरकारले विगतमा गरेको लगानीको प्रतिफल देखिन थालेको बताए । ‘जनताको डिमाण्ड दूध उत्पादन र विविधीकरणमा ठूलो लगानी गरेको छ । त्यही कारण इलाम, झापा, मोरङ सुनसरीमा उत्पादन बढेको छ । पहाडमा छुर्पी बनाएर विदेश निर्यात गर्ने गरिएको छ । त्यहाँबाट पनि घिउ निस्किने र तराईमा पाउडर बनाउँदा पनि घिउ निस्कन्छ । त्यसलाई बजारीकरण गर्न ठूलो चुनौती देखिँदै आएको थियो । आज जापानमा घिउ पठाउने कुरा सुन्दा अत्यन्तै खुसी लागेको छ’–दाहालले भने ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले घिउ निर्यात गर्ने आफूहरूको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरे । उनले नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन भएको र त्यसमध्ये ३१ लाख लिटर दूध बजारमा आउने गरेकोले त्योमध्ये १७ प्रतिशत मात्रै औपचारिक रूपमा बिक्री हुने र ३३ प्रतिशत अनौपचारिकरूपमा बिक्री भइरहेको बताए । ‘दूधको बजारबाट दैनिक ६ करोड रुपैयाँ सहरबाट गाउँमा पैसा जान्छ । ६ लाख कृषक परिवारले रोजगारी पाएको अवस्था छ । उद्योग क्षेत्रमा ४० हजारले रोजगारी पाएका छन् । यस्तै निजी क्षेत्रका डेरी उद्योगहरूमा ४५ अर्बभन्दा बढी लगानी भएको छ’ उनले भने, ‘अहिले विदेशमा पनि बजार खोज्ने र पठाउने जुन काम भएको छ, यो गौरव गर्नलायक छ ।’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घिउ निर्यात गर्ने कुरालाई प्रदेश सरकारले गौरवको रूपमा लिएको बताए । ‘यसलाई हामीले गौरवको रूपमा लिनुपर्छ । यसलाई गुणस्तर कायम गर्नु सबैभन्दा ठूलो कुरा छ । उत्पादनलाई निर्यात गर्न सहयोग गर्ने गरी बजेट निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ’ कार्कीले भने, ‘घिउ, चिउरा, चिया र मह निर्यात गर्ने जुन काम भएको छ, यो एकदमै राम्रो कुरा हो । घिउ, चिया र मह प्रदेशको पहिचान पनि हो । यसलाई अझै धेरै निर्यात गर्ने गरी जान सक्यौँ भने गरिबी निवारणमा पनि सहयोग पुग्ने देखिन्छ ।’