धरान । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय महाधिवेशनका लागि सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च सुनसरीले व्यवस्थापन समितिको संयोजक छनोट गरेको छ ।

मञ्चका सुनसरी अध्यक्ष राजकुमार वनेमका अनुसार पार्टीको भदौ अन्तिम साता हुन लागेको राष्ट्रिय महाधिवेशनका लागि सुनसरीबाट व्यवस्थापन समितिको संयोजकमा पार्टीका महासचिव तथा जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावतीलाई संयोजक तोकिएको छ ।

बैठकमा जिल्ला समिति, वडा समितिसहित केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो । अध्यक्ष वनेमका अनुसार पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् सुनसरीका संस्थापक गजेन्द्रमान चोङ्बाङ ‘क्याक’ को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । पार्टीको राष्ट्रिय महाधिवेशन भदौ २७ देखि २९ गतेसम्म हुँदै छ । जहाँ ६ वटा सङ्गठनहरूको एक साथ महाधिवेशन हुन लागेको हो ।

व्यवस्थापन समितिको संयोजकमा छनौट भएका पार्टीका महासचिव लावतीले महाधिवेशनका लागि आर्थिक, भौतिक, नैतिक सबै खालका सहयोग आवश्यक रहेकाले नागरिक समाज, राजनीतिक दल तथा संस्थाहरूलाई सहयोगको लागि अपिल गरेको बताए । उनले स्थानीय सरकारमा भइरहेको गतिविधिले धरानलाई पछाडि पार्ने काम भइरहेको बताए ।

यसका लागि सबै दल तथा दलका प्रतिनिधिहरूको साथसहयोग हुन आवश्यक रहेको बताए । उनले प्रदेश तथा केन्द्रमा भइरहेको राजनीतिक चलखेलले गर्दा स्थिर सरकार हुन नसकेको बताए । यसले विकास तथा समृद्धिमा पनि बाधा उत्पन्न गरिरहेको बताए । उनले पहिचानको मुद्दालाई किनारा लगाउन प्रदेश सरकार लागिपरेको बताए ।

जिल्ला अध्यक्ष वनेमले स्थानीय विकास निकै पछाडि परेको बताए । उनले राजनीतिक दलहरूको झगडाले गर्दा हुनुपर्ने विकास पनि हुन नसकेको बताए । त्यस्तै सुनसरी जिल्ला सचिव पवित्रा लिम्बूले स्थानीय सरकारले महिलाहरूलाई समेट्न नसकेकोप्रति प्रश्न गरिन् । कार्यक्रममा सङ्घीय सदस्य तथा भूमि अधिकार मञ्चका राष्ट्रिय अध्यक्ष पर्शुराम वाइबा, जिल्ला सदस्य रामकुमारी लिम्बू, जिल्ला सदस्य पद्मा लिम्बू, निर्मला सुहाङ लिम्बू, धरान नगर अध्यक्ष मोहनप्रसाद तिगेला, इटहरी नगर अध्यक्ष भीम खजुमलगायतले बोलेका थिए ।