समाजसेवी तथा साहित्यकार लक्ष्मी राई साहित्यको क्षेत्रमा ‘लारा’ नामले परिचित छिन् । त्यसो त उनका  परिचय धेरै छन् । उद्घोषक, कवि, कथाकार, लेखक, अभियन्ता, समाजसेवीलगायतका परिचय बनाएकी उनी धरान, काठमाडौं, हङ्कङ वा बेलायत जहाँ रहँदा पनि सधैँ सामाजिक कार्यमा सक्रिय छन् । लक्ष्मीको सक्रियताको गति अहिले पनि उस्तै छ ।

हाल बेलायतमा रहेर रोजगारी, साहित्यसँगै समाजसेवा गरिरहेकी लक्ष्मी लामो समयको सङ्घर्षपछि सामाजिक तथा साहित्यिक क्षेत्रमा स्थापित भएकी हुन् ।

बेलायतमा ‘जुनकिरी इनिसिएटिभ’ संस्था स्थापना गरी नेपालका विभिन्न ठाउँका बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग पुर्याउँदै आएकी लक्ष्मीको समाजसेवाको यात्रा धरानबाटै सुरु भएको हो ।

धरानको डिपो स्कुलमा अध्ययन गरेकी लक्ष्मी सानैदेखि साहित्यमा रुचि राख्थिन् । कक्षा ८ मा पढ्दा एकैपटक कविता, कथा र निबन्धमा प्रथम भएकी उनी धरानमा साहित्य र रङ्गमञ्चमा सक्रिय बनिन् । धरानको अनाम नाट्य जमातको संस्थापक सह–सचिवसमेत रहेकी उनले केही नाटकहरूमा अभिनय पनि गरिन् । त्यससँगै उनी कार्यक्रम उद्घोषण गर्न सक्रिय बनिन् ।

२०४५ सालको भूकम्पले धरानमा ठूलो क्षति पुग्यो । त्यसबेला उनी घाइते र पीडितहरूलाई सहयोग गर्न सक्रिय बनेकी थिइन् । त्यही बेलादेखि समाजसेवा गर्न थालेकी उनी पछि पढाइका लागि काठमाडौं गइन् । उतैबाट विवाह गरेर सन् १९९४मा हङ्कङ पुगिन् । हङ्कङमा पनि उनी चुपचाप बसिनन् । बरु उनको समाजसेवा र उद्घोषणको कामले झनै गति लियो । त्यससँगै उनले आफूभन्दा पछि हङ्कङ गएका नेपालीहरूलाई परेका विविध कानूनी समस्याको समाधानका लागि सहायता गर्न थालिन् । यसरी हङ्कङमा पनि बेग्लै छाप बनाएकी उनी सन् २००९ मा बेलायत प्रस्थान गरिन् ।

बेलायतको नेपाली समाजमा पनि उनी चुप लागेर बस्ने कुरै थिएन । जागिर र घर व्यवहार बीचको व्यस्त समयमा पनि उनलाई आफ्नै पढाइ अगाडि बढाउने जोस चल्यो । त्यसपछि नाम चलेको ‘युनिभर्सिटी कलेज अफ लन्डन’ (युसिएल) बाट ‘एजुकेसन, जेन्डर एन्ड इन्टरनेशनल डेभलपमेन्ट’ विषयमा मास्टर्स गरिन् । उनी रजिष्टर्ड सोसल वर्कर अर्थात् सरकारबाट मान्यता प्राप्त समाजसेवी पनि हुन् । धेरैलाई सहयोग गर्दै आएकी उनले अहिले पनि नेपालमा विभिन्न ठाउँमा १५ जनालाई छात्रवृत्ति प्रदान गरेर पढ्न सहयोग गरिरहेकी छन् ।

उनले धरान–४ स्थित वसन्तटारमा रहेको आश्रमका ८ बालिकाहरूलाई पनि शैक्षिक सामग्री र लुगाकपडा सहयोग गर्दै आएकी छन् । उनी आफू सानोछँदा चाहे जसरी पढ्न नपाएकाले पनि अहिले पढ्न चाहने कोही भेटे सहयोग गर्ने गरेको बताउँछिन् । नेपालका विभिन्न ठाउँमा शिक्षाका लागि सहयोग पु¥याउँदै आएकी उनी बेलायतमा नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउँछिन् । नेपाल बारे सिक्न, बुझ्न चाहने विभिन्न देशका मान्छेहरूलाई अनलाइनमार्फत् नेपाली भाषा पनि सिकाइरहेकी छन् । उनी भन्छिन्, ‘बेलायतमा रहेका नेपालीहरूको नयाँपुस्ताले आफ्नो भाषा, संस्कृति बिर्सिंदै गएको छ । यस्तो अवस्थामा बालबालिकालाई भाषा, संस्कृतिको ज्ञान दिनु आवश्यक लागेर यो अभियान चलाएकी छु ।’

लक्ष्मीको तन बेलायतमा रहे पनि मन भने नेपालै हुन्छ रे । नेपालीहरूकै सुख–दुःखमा साथ दिन पाउँदा खुसी हुने उनी समाजसेवामा रुचि हुँदा जति व्यस्त समय भए पनि व्यवस्थापन गर्न सकिने अनुभव सुनाउँछिन् । लक्ष्मीले बेलायतमा रहेर नेपाली भाषा, संस्कृतिको संरक्षण र नेपालमा गरेको समाजसेवाको मूल्याङ्कन गर्दै नेपाल सरकारले ‘समाजसेवा रत्न’ अलङ्कारले विभूषित गरेको छ । उनी भन्छिन्, ‘सामाजिक कार्य मेरो लागि नशाजस्तै भइसकेको छ । जहाँ बसे पनि नेपाली समुदायको हित र नेपाली भाषा, संस्कृतिको उन्नयनका  लागि काम गर्न चाहन्छु ।’