धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–१० स्थित चुङ्वाङमा आइतबार अपरान्ह ३ बजे महेन्द्र पिकअप दुर्घटना हुँदा नौ वर्षीया बालिकाको ज्यान गएको छ ।

घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याउने क्रममा बालिका संस्कृति राईको बाटैमा ज्यान गएको धनकुटा प्रहरीले जनाएको छ । सहिदभूमि गाउँपालिका–५ खोकु घर भएकी बालिका आफन्तसँग चुङ्वाङ जानेक्रममा दुर्घटनामा परेकी थिइन् । मृतक बालिकाको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

धनकुटा नगरपालिका–१ हिलेबाट पाख्रीबास–१० चुङ्वाङ जाने क्रममा को.१ ज १६१९ नम्बरको पिकअपले क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । हिलेबाट चुङ्वाङ जाँदै गर्दा पाख्रीबास–१० स्थित भारती मा.वि. नजिकैको गोलाइमा पुग्दा पिकअप दुर्घटनामा परेको स्थानीय गोविन्द खत्रीले बताए । ओभरलोड भएर अगाडिको टायर पड्किएर पिकअप दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयले बताए ।

खत्रीका अनुसार दुर्घटनामा परी धनकुटा–४ की ३८ वर्षीया देवीका खत्री, वर्ष–४८ की सुनिता खत्री, वर्ष १४ का अभिनव खत्री, वर्ष–१० का अजित खत्री, वर्ष–३७ की देवी खत्री रहेका छन् ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनका जानकारीअनुसार वर्ष–४० का काठमाडौँ घर भएका सानु आले र अर्का ठेगाना नखुलेका वर्ष–६० का लक्ष्मी राई गम्भीर घाइते भएका छन् । त्यसैगरी प्रहरीका अनुसार स्थानीय नेत्र खत्री, मधु राई, कुमारी राई, बालकुमारी राई र जया राई पनि घाइते भएका छन् ।

को.१ ज १६१९ नम्बरका पिकअपका चालक रामणि राईको दाजु रङ्गमणि राईको छोराको विवाहको सामान र आफन्त लिएर हिलेबाट चुङ्वाङ जाने क्रममा दुर्घटनामा परेको स्थानीय गोविन्द खत्रीले बताए । अधिकांश घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पिकअपमा चालकसहित १९ जना सवार थिए ।

accident dkt1