झापा । झापा शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाममा महाशिवरात्रि मेला लाग्ने भएको छ ।

झापाको त्रिधाममध्ये चिल्लागढ धाम ओझेलमा परेको छ । चिल्लागढ धामको महŒव उजागर गर्ने उद्देश्यले महाशिवरात्रिको अवसर पारेर मेला लगाउन लागिएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चिल्लागढ धाम विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको बताए । अध्यक्ष तुम्बापोका अनुसार यही फागुन २४ गतेदेखि २६ गतेसम्म मेला लगाइँदै छ । चिल्लागढ धामले महाभारतकालीन इतिहास बोकेको छ । पाँच हजार वर्ष पहिलो पाँच पाण्डवहरू वनबास गर्ने क्रममा यज्ञ गरेको स्थानको रूपमा चिल्लागढ धामलाई लिइन्छ ।

यहाँ विभिन्न जातजातिका मठमन्दिर निर्माणसँगै मौलिक घरसमेत निर्माण गरिएको छ । यस क्षेत्रमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण गरिएको छ । पछिल्लो समय सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले चासो दिन थालेका छन् । मेलामा रोटेपिङ, कोलम्बस नौका, ड्रागन रेल, जम्पिङ, घोडालगायतका खेलतमासाहरू राखिने भएको छ ।

त्यस्तै बालबालिका लक्षित खेलतमासाहरू पनि हुनेछन् । मेलामा सङ्गीनी, च्याब्रुङ नाचलगायत प्रदर्शन गरिने भएको छ । मेला व्यवस्थापन गर्न शिशिर तुम्बापोको संयोजकत्वमा २४ सदस्यीय मूल आयोजक समिति गठन गरिनुका साथै विभिन्न उपसमितिहरू गठन गरिएको जनाइएको छ । स्टेज व्यवस्थापनमा रमेश सङ्ग्रौला, सांस्कृतिक कार्यक्रममा धनपति रिजाल, प्रचार–प्रसार समितिमा राजन चापागाईं, आर्थिक समितिमा नारायण नेपाल, सहयोग समितिमा भानु ढुङ्गेललगायत रहेका छन् ।

धाम परिसरस्थित शिवालय मन्दिरमा ६ फिट अग्लो प्राकृतिक शिवलिङ्ग रहेको छ । त्यस्तै सीताराम मन्दिर, किरातेश्वर हाङ्साम माङ्हिम, भगवती माता मन्दिर, दुर्गा मन्दिरलगायतका मठमन्दिर रहेका छन् । मेलामा रचना रिमाल र दीपक लिम्बूको प्रस्तुतिसँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ । मेलाको उद्घाटन सङ्घीय सांसद् लालप्रसाद साँवा लिम्बूले गर्ने कार्यक्रम रहेको छ ।