धरान । भिजन फिट्नेसको  आयोजनामा सम्पन्न पाँचौं मिस्टर भिजनको उपाधि भिजन फिट्नेसका रमेश फोम्बोले जितेका छन् ।

शनिबार सम्पन्न प्रतिस्पर्धामा ६० केजी तौल समूहका फोम्बोले धरानका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हातपरेका हुन् ।

प्रतिस्पर्धामा एनिटाइम फिट्नेशका उमेश राई दोस्रो भए । उनले बेस्ट पोजरको उपाधिसमेत हातपारेका छन् । त्यस्तै हाम्रो व्यायामशालाका अनुप लिम्बू तेस्रो भए भने सागर राई चौथो भए । त्यसैगरी बेस्ट इम्प्रुभमेन्ट भिजन फिट्नेसका विनोदकुमार नेपाली, बेस्ट मस्कुलर धरान फिट्नेसका सन्तोष विश्वकर्मा घोषित भए । प्रतियोगितामा सबैभन्दा बढी खेलाडी सहभागी गराएर धरान फिट्नेसले बेस्ट टिम घोषित हुँदै नगद ५ हजार पुरस्कार हातपारेको छ ।

प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी तौल समूहका प्रतिस्पर्धी सहभागी थिए । चारै तौल समूहबाट छनौट भएका प्रतियोगीहरू बीच प्रतिस्पर्धा गराई विजेता छनौट गरिएको आयोजक भिजन फिट्नेसका अध्यक्ष केशव श्रेष्ठले बताए ।

उपाधि विजेतालाई ५० हजार, दोस्रोलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र चौथोलाई १० हजार नगद पुरस्कारसहित प्रमाण–पत्र, मेडल प्रदान गरियो । अन्य विजेतालाई मेडलसहित ५ हजार रुपैयाँले पुरस्कृत गरियो । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि बेघाले स्थानीय सरकारले अब खेलमा लगानी गर्ने बताएका छन् । बेघाले खेल क्षेत्रमा धरान निकै अगाडि रहेको बताए । अब धरानमा फुटबल मात्रै नभएर बडीबिल्डिङलाई पनि खेलको रूपमा अगाडि बढाउन स्थानीय सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

प्रतियोगिताको निर्णायकहरूमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, सीता राई (श्रेष्ठ) र केशव श्रेष्ठ रहेका थिए ।