इटहरी । राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रबाट ठूलो परिमाणमा काठ तस्करी भएको पाइएको छ ।

हाँसपोसा सामुदायिक वन क्षेत्रबाट काटेर राखेको अवस्थामा १९ थान गोलिया काठ बरामद भएको हो । वनका कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीहरूले यही फागुन १४ गते गोलिया बरामद गरेका हुन् । जङ्गली हात्तीका कारण पछिल्लो समय वनका पदाधिकारी तथा वन कर्मचारीले जङ्गल क्षेत्रभन्दा गाउँक्षेत्रतिर निगरानी बढाएका थिए । यही मौका छोपेर तस्करको समूहले काठ तस्करी गरिरहेको सूचनाका आधारमा गोलिया बरामद गरेको वनका कर्मचारी बताउँछन् । हाँसपोसा वन क्षेत्रबाट सखुवा प्रजातिको १५ थान र अन्य प्रजातिको चारवटा काँचो रुख काटेर झाडीमा लुकाएको अवस्थामा गोलिया बरामद गरिएको वनका अध्यक्ष महेन्द्र गिरीले बताए । गोप्य सूचनाका आधारमा जङ्गल क्षेत्रमा जाँच गर्दा गोलिया फेला पारेको उनले बताए ।

ठाडो रुख ढालेर गोलिया बनाई ब्रह्मपुर सामुदायिक वन क्षेत्रमा पर्ने ढोड घारीभित्र खाल्डो बनाएर लुकाएको अवस्थामा फेला पारिएको अध्यक्ष गिरीले बताए । उनका अनुसार उक्त काठ बजार मूल्य करिब ४० लाख रुपैयाँ रहेको छ । बरामद काठ हाल तरहरा रेन्ज पोष्टलाई जिम्मा लगाइएको उनले जानकारी दिए । यता तरहरा रेन्ज पोष्टका अनुसार वन क्षेत्रबाट १५ वटा सखुवाको एक सय ९३ क्यु. फिट र अन्य दुई सय ३८ क्यु. फिट गोलिया बरामद भएको छ । उक्त परिमाणको गोलिया सरकारी दरअनुसार ३२ लाख रुपैयाँ बजार मूल्य रहेको तरहरा रेन्ज पोष्टका सहायक वन अधिकृत दिनेश यादवले बताए । ठूलै मात्रामा गोलिया बरामद भएपछि तस्करको समूह नै परिचालन भएको अनुमानसहित गस्ती बढाइएको अधिकृत यादव बताउँछन् ।

बरामद काठबारे अनुसन्धान भइरहेको पनि उनले बताए । तस्करहरूको समूहले वन क्षेत्रमा जङ्गली हात्तीले त्रास मच्चाएको मौका छोपेर रुख ढालेको हुन सक्ने अधिकृत यादव बताउँछन् । उनले ४ महिनाको अवधिमा दुइटा सवारी साधनसहित भारी मात्रामा काठ बरामद गरी तस्करीमा संलग्न केहीलाई मुद्दा चलाएको बताए । उनले मे.१ च २९७३ नं. को महेन्द्र बोलेरोभित्र २५.३८ क्यु.फिट चिरान काठ बरामद गरी तस्करीमा संलग्न इटहरी–३ का दिलमान तामाङलाई पक्राउ गरी वन ऐनसम्बन्धी मुद्दा चलाएको बताए । तामाङ गत माघ महिनामै १० हजार धरौटी बुझाएर निस्किसकेका छन् । तस्करीमै संलग्न इटहरी–३ का रुविन तामाङ, कुमार तामाङ भने फरार रहेको अधिकृत यादवले बताए ।