ताप्लेजुङ जिल्लामा दश हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत ताप्लेजुङका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खोप लगाउन लागिएको हो।

यही फागुन १८ देखि २२ गतेसम्म फुङ्लिङ नगरपालिका, पाथीभरा यावरक, सिदिङवा, र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत कुलबहादुर पौडेलले राससलाई जानकारी दिएका।

त्यस्तै मेरिङदेन, मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका क्षेत्रमा फागुन २४ देखि २८ गते सम्ममा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ। ताप्लेजुङ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका दश हजार बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइनेछ। 

खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्ना बालबालिकालाई खोप लगाउन कार्यालयले आह्वान गरेको छ। खोपबाट ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने जनाइएको छ। खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताएका छन्।

दादुरा–रुवेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन्। हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गरिएको हो। देशभरका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयंसेविका र ४४ हजार स्वास्थ्यकर्मीमार्फत् खोप अभियान सञ्चालन हुनेछ। यो अभियान सञ्चालनमा  एक अर्ब ३६ करोड खर्च लाग्नेछ। जसमध्ये ८४ प्रतिशत रकम गाभी (ग्लोबल भ्याक्सिनेशन अलाइन्स) ले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले ब्यहोर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।