धरान आइपुग्न मन्त्रीको जहाज ‘डिले’ भएपछि सञ्चारकर्मीले सोधे– धरानमा एयरपोर्ट किन नबन्ने ?

धरान एक्सपोको उद्घाटनका निम्ति प्रमुख अतिथिका रुपमा धरानमा आमन्त्रित संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किरातीलाई धरानका सञ्चारकर्मीहरुले ‘धरानमा एयरपोर्ट किन नबन्ने’ भन्दै प्रश्न गरेका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्धारित समयभन्दा झण्डै तीन घण्टा ढिला आएका मन्त्री किरातीलाई सञ्चारकर्मीले घेरा हाले ।  

‘आजै तपाईंको फ्लाइट डिले हुनु..., धरानमा झलमल्ल बिहानैदेखि घाम लागेको थियो । तपाईंलाई हामी बिहानैदेखि पर्खेर बसिरहेका थियौं । यसैले पनि प्रमाणित गर्छ कि धरानमा सबै हिसाबले एयरपोर्ट बन्न ठीक छ । यो हाम्रो जिकिर हो । के भइरहेको छ धरानको एयरपोर्टको विषयमा थालिएको अध्ययन ?’ एकजना सञ्चारकर्मीले सोधे । उनले सक्न नभ्याई अर्का सञ्चारकर्मीको प्रश्न पनि तेर्सियो– मन्त्रीज्यू तपाईंका कर्मचारीले धरानमा एयरपोर्ट बन्न नसक्ने दाबी गर्दै दिएको अभिव्यक्तिलाई कसरी लिनु भएको छ, कर्मचारीले त्यस्तो बोल्न मिल्छ ?’

फेरि अर्का सञ्चारकर्मीले सोधे– ‘यस अघिकै अध्ययन समितिले ९३ बिघाभन्दा बढी जग्गा आवश्यक ठहर्याएको, ४२ सिट क्षमता भएको विमान चलाउन सकिने र नगरपालिकालाई जग्गा सुनिश्चितता गर्न भनेको थियो । तपाईं मन्त्री भइसकेपछि साविक अध्ययन प्रतिवेदनलाई नहेरी तत्काल तपाईंले अर्को अध्ययन समिति बनाइदिनु भयो, यहाँ तपाईंले जग्गाको सुनिश्चितता गर्नू त्यसपछि हामी गर्छौं भन्नुपर्नेमा नयाँ अध्ययन समिति गठन गर्नु भयो, यसको काम कहाँ पुग्यो ?’ 

तपाईं भाइरल कि लोकप्रिय मन्त्री ? भन्ने प्रश्नको उत्तरबाट बोल्न सुरु गरेका मन्त्री किरातीले भाइरल र लोकप्रिय मन्त्रीको परिभाषा सबैभन्दा पहिला आफैंले दिएको बताए । उनले अहिले भाइरल हुने चलन रहेको बताए । 

‘म लोकप्रिय पनि होइन, भाइरल पनि होइन । बनाइदिनुहुन्छ भाइरल तपाईंहरुले, जेजे चाहिन्छ, त्यहीत्यही काटेर लगाएर । तसर्थ बजारको वस्तु नबनाइदिन म हार्दिक अनुरोध पनि यहाँहरुलाई गर्दछु,’ स्पष्टीकरण दिंदै मन्त्री किरातीले भने, ‘नेपालमा हामी सबै विज्ञ छौं, यो घातक पनि छ देशका लागि । हामी आआफ्नो क्षेत्रका लागि विज्ञ हुँदामात्रै राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

मन्त्री किरातीले धरान एयरपोर्टको अध्ययन समितिको प्रतिवेदन अन्तिम तयारीमा रहेको बताए । ‘आजभन्दा २५ वर्षअघि बनाएको प्रतिवेदन र २५ वर्षपछि बनाएको अध्ययन प्रतिवेदन एउटै हुँदैन, त्यसको बजार कसरी वृद्धि भएर गयो, मान्छेको घनत्व, त्यहाँको उत्पादन र उत्पादकत्व शक्तिहरुको सम्बन्ध के छ ? सबै कुराहरुले बजारको निर्धारण गर्छ । त्यसकारण बाजेकै पालामा सर्वे भएको कुरा आज हाम्रो पालामा जस्ताको तस्तै लागू गर्यौं भने हामी परम्परागत हुन्छौं, हामी जडतामा जान्छौं, त्यसकारण अध्ययन गर्न जरुरी भएको हो । 

टुक्का जोड्दै मन्त्री किरातीले भने, ‘नेपालमा के छ भने, पञ्चायतकालमा हामीले सुनेका थियौं, भोट माग्न जाने नेताले यसो एउटा आँखा चिम्लेर ‘आइसर्वे’ गरेर यहाँ त एयरपोर्ट पो हुँदो रहेछ भनेर भोट माग्ने चलन थियो, अब त्यस्तो हुँदैन । यो लोकतान्त्रिक गणतन्त्र हो, एक्काइसौं शताब्दी पनि हो, हामीले अरुसँग प्रतिस्पर्धा गर्न पनि अरुसँग सिक्नु पनि पर्छ । 

मन्त्री किरातीले होडबाजी गरेर, राजनीतिक दबावका आधारमा एयरपोर्ट थुप्रै बनेको बताए । उनले आजसम्म २२ वटा एयरपोर्ट खाली रहेको बताए । ‘अर्बौंको सम्पत्ति जनताको पैसा जाम भयो । यो कसैको पनि अरुको सम्पत्ति होइन ।’

मन्त्री किरातीले थपे– ‘त्यसकारण यहाँको अध्ययन चाहिं वैज्ञानिक रुपले गर्नुपर्छ । यसको निष्कर्ष निकाल्नुपर्छ । ६ लेनको बाटो विराटनगर–धरान बन्दैछ । यो बढीमा आधि घण्टाको बाटो हो, ६ लेन बनिसकेपछि आधि घण्टाको बाटोमा एयरपोर्ट बनाउँदा खेरि त्यसले पार्ने दिर्घकालीन असर केके हुन् ? बुझ्न सक्नुपर्छ ।’ 

‘हामीले बाख्राको पाठो लगानी गरेर भैंसी किन्नुपर्छ । यहाँ भैंसी लगानी गरेर बाख्राको पाठो ल्याउने चलन पनि छ । अर्थात् यसो भनौं गुच्छाजत्रो लगानी गरेर भैंसीजत्रो आम्दानी गरे राम्रो हुन्थ्यो । तर, भैंसीजत्रो लगानी गरेर गुच्छाजस्तो आम्दानी गर्ने नेपाली प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’

मन्त्री किरातीले वैज्ञानिक ढङ्गले निकालिने निष्कर्षबाट मात्रै एयरपोर्ट बनाउने बताए । ‘कसैको दबाब... यो चाहिं घातक हुन्छ । किनभने २२ वटा एयरपोर्ट हामीले चलाएका छैनौं । एयरपोर्ट चलाउनुपर्छ ।’

मन्त्रीले यसो भनिरहँदा बीचमा प्रश्न गरेका सञ्चारकर्मीलाई रोक्दै उनले विषय सन्दर्भलाई जोड्न लागेको बताउँदै भने– ‘त्यस्तो प्रविधिहरु पनि आउँदैछन् जो अँध्यारो बादलभित्र पनि ‘प्लेन’ चलाउन सकिन्छ । त्यस्तो प्रविधिहरु हामीले खोज अनुसन्धान गर्नुपर्छ । तर कसैको दबाबको भरमा चाहिं एयरपोर्ट बनिनु हुँदैन, जहाँ आवश्यक हो त्यहाँ एयरपोर्ट बन्छ ।’

एकपछि अर्को सवाल जवाफ गरेका धरानका सञ्चारकर्मी र मन्त्रीले लामो समय लिए । 

सञ्चारकर्मीले पुनः मन्त्री किरातीलाई सोधे– मन्त्रालय कसले चलाउँदैछ ? 

मन्त्री किरातीले उत्तर दिए– ‘मन्त्रालय अहिले म चलाउँदैछु ।’ 

सञ्चारकर्मी– ‘तपाईं चलाउँदै हुनुहुन्छ भने– एयरपोर्ट धरानमा बन्दैन, बन्दैन भनेर तपाईंको मन्त्रालयका कर्मचारीहरुले भन्दै गर्दा तपाईंले उनीहरुलाई के कारबाही गर्नुभयो ? धरानमा एयरपोर्ट आउने सवालमा किन अवरोध छ ? किन विरोध छ ? उनीहरुलाई किन टाउको दुःखाइ छ ?’ 

मन्त्री किरातीले उत्तर दिंदै भने– ‘बन्छ कि बन्दैन भन्ने आधारमा नै कारबाही गर्नुपर्ने कुनै जरुरी पनि छैन ।’

सञ्चारकर्मीले भने– ‘उनीहरुले भाषण नै गरेका छन् ।’ 

मन्त्रीले भने– ‘उसले के आधारमा के प्रसङ्गमा बोल्यो, मलाई थाहा छैन ।’

सञ्चारकर्मीले भने– ‘सार्वजनिक भएको कुरो तपाईंसँग ‘रिलेटेड’ कुरो तपाईंलाई थाहा हुँदैन ?’ 

मन्त्रीले भने– ‘यो प्रतिवेदनबाट निस्कने निष्कर्षले धरानमा एयरपोर्ट बनाउनै पर्छ भन्ने देखियो भने, जसले बनाउँदिन भन्छ त्योमाथि कारबाही हुन्छ । हामीले वैज्ञानिक प्रतिवेदन तयार गर्छौं । कसले के बोल्यो भन्ने कुरामा दण्ड र जरिवानाको व्यवस्था हुँदैन ।’ 

सञ्चारकर्मीले भने– ‘त्यो छुट चाहिं किन दिनु भएको ? नीति तिनीहरुले बनाउने हो ?’ 

मन्त्रीले भने– ‘नीति हामीले नै बनाउने हो । अब बन्दैछ नि त ।’

सञ्चारकर्मीले भने– ‘कर्मचारीले त्यो तहबाट बोल्ने र धरानलाई डाउन गर्ने अधिकार कसैलाई छैन ।’ 

मन्त्रीले भने– ‘अब यो नीति बन्दैछ । यो नीतिको ट्र्याकभन्दा बाहिर कोही जाँदैन । नबनी सकेको स्थितिमा बन्छ र बन्दैन भन्ने मतहरु आइराखेकै छ ।’ 

सञ्चारकर्मीले भने– ‘यो नीतिअनुसार धरानमा एयरपोर्ट आउँदैन भन्ने लगभग ‘कन्फर्म’ छ । तर तपाईं नीति परिवर्तन गर्ने ठाउँमा हुनुहुन्छ र तपाईंले केके बनाउँदै हुनुहुन्छ र केके आश्वासन दिनुहुन्छ ?’ 

मन्त्रीले भने– ‘नीति त हामीले २ किलोमिटरको पनि बनाउँला, तर यहाँ एयरपोर्ट चल्ने ग्यारेन्टी हुनुपर्यो । अर्बौं लगानी गरेपछि चल्ने ग्यारेन्टी हुनुपर्यो ।’ 

सञ्चारकर्मीले भने– ‘चल्ने ग्यारेन्टी भनेको के हो ?’ 

मन्त्रीले भने– ‘चल्ने ग्यारेन्टी भनेको बजार हो ।’ 

सञ्चारकर्मीले भने– ‘२२ वटा एयरपोर्ट कसरी बने ?’

मन्त्रीले भने– ‘ट्राफिक भन्छ, के त्यसलाई ट्राफिक भन्छ । ट्राफिक परिस्थिति चाहिं राम्रो हुनुपर्यो ।’

सञ्चारकर्मीले भने– ‘तपाईं आफैं ‘डिले’ मा परेर आइपुग्नु भयो ।’

मन्त्रीले भने– ‘संसारमा ‘डिले’ हुन्छ क्या मित्र । संसारमा पिलेन डिले त हुन्छ । आकाशमा उड्ने पिलेन खेलाँची गरेर हुँदैन नि । संसारमा कहाँ पिलेन ‘डिले’ हुँदैन ?’ 

सञ्चारकर्मीले भने– ‘एयरपोर्ट ल्याउन सकिने नीतिहरु किन बन्दैन, यहाँ पार्टीहरु पनि लागेको छ, सबै लागेका छौं, के छ त प्रावधान ?’ 

मन्त्रीले भने– ‘धरानमा यति कारणले यो बजारमा चल्छ भन्ने ग्यारेन्टी भयो भने नि, यो नीति फेर्ने जिम्मा मेरो भयो । तपाईं ढुक्क रहनुस् ।’ 

सञ्चारकर्मीले भने– ‘ग्यारेन्टी कसले दिनुपर्ने ?’

मन्त्रीले भने– ‘यो सर्वेले दिन्छ । यो अध्ययनले दिन्छ ।’ 

अर्का सञ्चारकर्मीले सोधे– ‘तर नि मन्त्रीज्यू, रिपोर्ट नै नआइकन मन्त्रालयका कर्मचारीले विराटनगर, विराटनगर भन्नु त ‘बायस’ देखियो नि ?’ 

मन्त्रीले भने– ‘त्यो मैले अघि पनि भनें, बन्छ र बन्दैन भन्ने मत छ क्या अहिले, तर के चाहिं हुन्छ भन्ने कुरा सर्वेले देखाउँछ ।’ 

सञ्चारकर्मीले भने– ‘तर मार्केटको कुरा अघि गर्नु भयो नि– विराटनगरको मार्केट, धरान र धरान आसपासको धेरै छ ।’ 

मन्त्रीले भने– ‘तपाईंहरुलाई यो पनि स्पष्ट पारौं विराटनगरको एयरपोर्ट नै ‘फुलफ्लेज’ मा चलिसकेको छैन । ‘कन्फर्म’ है तपाईंहरुलाई । त्यहाँ कमसेकम सय वटा उडान हुनुपर्छ । अनिमात्रै त्यसले साँच्चै आम्दानी दिन्छ । विराटनगरको एयरपोर्टले १८ देखि २० फ्लाइटदेखि नगर्ने, विराटनगरको वरिपरि एयरपोर्टमाथि एयरपोर्टमात्रै थप्दै लग्यो भने राज्य कहाँ पुग्छ ? यसरी नै राज्य आर्थिक रुपमा धरासायी हुँदै जानुपर्ने कारण चाहिं हाम्रो वैज्ञानिक सोच र विचार नभएरै हो भन्ने लाग्छ । अहिलेको बजारले प्रमाणित गर्यो भने कति किलोमिटर र कति त्यसको नटिकल माइलमा एयरपोर्ट निर्माण गर्नुपर्ने त्यसको नीति फेर्ने जिम्मा मेरो भयो ।

एयरपोर्टबारे नेपथ्यमा आएका सवाललाई मोडेर मन्त्री बाँकी प्रश्नको उत्तरतर्फ लागे ।