इटहरी । गत मङ्सिर महिनामा इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोख्रेलले आफ्नो क्षेत्रमा लत्रिएका तारहरू हटाउने अभियान सुरु भएको भनी उद्घोष गरे । केही दिन अभियान पनि चलाए । सामाजिक सञ्जालमा वाहवाही मात्रै बटुलेनन्, समाचारको हेडलाइन पनि बने । तर, हाल आएर उक्त अभियान पोख्रेलकै वडा कार्यालयमा थन्को लागेको छ ।

स–साना काम गरेर चर्चामा आउने वडाध्यक्ष पोख्रेलले थालेको काम र चलाएको अभियानलाई टुङ्गोमा नपु¥याउँदा वडाका व्यवसायीहरू भने रुष्ट छन् । इटहरी–६ का कपडा व्यवसायी मुकुन्द न्यौपाने सहरको सौन्दर्य नै बिगार्ने तार हटाउने अभियान ठीकै लागेको भए पनि हाल आएर काम नगर्दा ‘स्टन्टबाज’ मात्रै रहेको बताए । उनका अनुसार तारकै कारण बर्सेनि आगलागीको घटना हुँदै आएको छ । स्थानीय सरकारका जनप्रतिनिधि तथा विद्युत् प्राधिकरणले चासो नदिँदा अव्यवस्थित तारका गुजुल्टाले सहरको सौन्दर्य हराएको इटहरी–६ का होटल व्यवसायी प्रकाश महतो बताउँछन् । तारकै कारण हरेक वर्ष विद्युत् सट भई आगलागीका घटनाहरू हुने गरेको अर्का होटल व्यवसायी रूपेश श्रेष्ठ बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण शाखा इटहरीका अनुसार इटहरीस्थित मुख्य राजमार्गमा गाडिएको बिजुलीका पोलहरूमा लत्रिएका तारहरूमध्ये ७० प्रतिशत कामै नलाग्ने गरी बिग्रिएको छ । इटहरीमा दुई दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक शाखा कार्यालयहरू रहेका छन् ।

त्यस्तै दर्जन बढी केवल टिभीहरू सञ्चालन हुँदै आएका छन् । यता तार व्यवस्थापन गर्ने अभियान चलाएका इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोख्रेलले लत्रिएका तार व्यवस्थापनभन्दा पनि मुठा पारेर पोलमै राख्ने काम भएको बताए । उनले पोलका तारहरू हटाउन असम्भव रहेको दाबी गरे । वडाध्यक्ष पोख्रेलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गर्नुपर्ने काम आफूले गरेको दाबी गरे । यता विद्युत् प्राधिकरण इटहरी शाखाका प्रमुख राम साहले भने लत्रिएका तारहरू स्थानीय सरकारको रोहवरमा हटाउने काम भइरहेको बताए ।

भित्री सडक क्षेत्रमा रहेका सबै तारहरू व्यवस्थापन भइसकेको उनले बताए । मुख्य राजमार्गमा भने प्राविधिक कठिनाइका कारण समस्या भइरहेको शाखा प्रमुख साहको भनाइ छ । सम्बन्धित केवल सञ्चालक, इन्टरनेट सेवा प्रदायकका शाखा प्रतिनिधिहरूसँग छलफल गरेर तारहरू व्यवस्थित गर्नेतर्फ प्राधिकरण तत्पर रहेको शाखा प्रमुख साहले बताए । प्राधिकरणले बिजुलीको पोलमा तार टाँगेबापत शुल्क लिने गरेको छ ।