धरान । धरान–१५ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिक सेवा मिलन केन्द्र स्थापना गरेको छ ।

धरान–१५ मा रहेका ज्येष्ठ नागरिकहरूलाई भेट्ने चौतारीका रूपमा वडा कार्यालयले ज्येष्ठ नागरिक सेवा मिलन केन्द्र स्थापना गरिदिएको वडाध्यक्ष नरेश इवारमले जानकारी दिए । सोमबार केन्द्रको उद्घाटन गरिएको छ । यस्तै महिला सीप केन्द्र पनि एकसाथ उद्घाटन गरिएको हो । वडा कार्यालयले वडामा रहेका महिलाहरूलाई सीप सिकाई आत्मनिर्भर बनाउने योजनाअनुरूप केन्द्रको भवन निर्माण गरिएको हो । केन्द्रले प्रशिक्षकहरू पनि उत्पादन गरी अन्य स्थानीय तहमा तालिम दिन जाने गरेको वडाकी कार्यक्रम फोकल व्यक्ति दीपिका कार्कीले जानकारी दिइन् ।

केन्द्रमा ज्येष्ठ नागरिकहरूले नियमित रूपमा भजन कीर्तन गर्न सक्ने, मनोरञ्जन गर्न सक्ने गरी केन्द्र निर्माण गरिएको वडाध्यक्ष इवारमले जानकारी दिए । वडाले चालु आर्थिक वर्षमा एक लाख रुपैयाँ बजेट ज्येष्ठ नागरिकका लागि विनियोजन गरेको छ । धरान–१५ वडामा ६० वर्षभन्दा दलित र गैरदलित गरी करिब १४ सयको हाराहारीमा ज्येष्ठ नागरिक रहेको वडाध्यक्ष इवारमले जानकारी दिए ।

धरान उपमहानगरकी कार्यपालिका सदस्य सिर्जना नेपालले महिलाहरूको सीप विकास, क्षमता विकास र ज्येष्ठ नागरिकहरूको मनोरञ्जन स्थल निर्माण गरेकोमा वडालाई धन्यवाद दिइन् । वडासँग धरान–१५ को हातेमालो उद्यमी महिला समूह, पञ्चेबाजा महिला समूहले सहकार्य गरी काम गरिरहेको छ ।