झापा । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ ।

स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुवात गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो । सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताए । पार्क बन्नुअघि त्यस स्थानमा भुटानी शरणार्थी शिविर रहेको थियो ।

शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि उक्त स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरकारले दुई करोड लगानी गरेको थियो । बाइस बिघा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन महँगा मूल्यका पूर्वाधार संरचना निर्माण गरिएका थिए । सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्वीमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो । आकर्षक प्रवेशद्वार र उद्यानसमेत बनाइएको थियो । वि.सं. २०२९ फागुन २१ गते झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा पञ्चायती सरकारबाट जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच सहिदमध्ये एक थिए नेत्र घिमिरे । सहिद नेत्र घिमिरेकै स्मृतिमा उक्त पार्क बनाइएको हो ।

पूर्वाधार निर्माण गरे पनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् । बिर्तामोड–७ का जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, सङ्घ–संस्थाका प्रतिनिधि र विद्यार्थी पार्कको झाडी फाँड्ने र सरसफाइ गर्ने कार्यमा जुटेका हुन् । ‘राज्यको ठूलो लगानी खेर जाने अवस्थामा पुग्यो’ वडाध्यक्ष खरेलले भने, ‘यसको संरक्षण र सम्बद्र्धन गर्नु आम नगरवासीको दायित्व हो । अब सरसफाइ गरेर चाँडै पार्क सञ्चालनमा ल्याउँछौँ ।’ स्थानीयले आउँदो एक सातासम्म लगातार सरसफाइ गर्ने भएका छन् ।

सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले शौचालय, खानेपानी र बिजुलीबत्ती उपलब्ध गराएर पार्कलाई पुनःजीवित गरिने बताए । उनले जङ्गली हात्ती डुलिरहने हात्ती करिडोरमा पार्क रहेको हुँदा सुरक्षा बन्दोबस्तका लागि पर्यटकीय अवलोकन क्षेत्रमा विद्युतीय घेराबेराको तयारी भइरहेको जानकारी दिए । पार्कमा बालबालिकालाई खेल्नका लागि पिङ, चिप्लेटीलगायतका प्लास्टिकका संरचना बनाइएका थिए भने डाइनोसरलगायतका फाइबरका ठूला प्रतिमा स्थापना गरिएका थिए । जगेर्ना नहुँदा लाखौँ खर्चेर किनिएको डाइनोसरको मूर्ति क्षतिग्रस्त छ । पोखरी र पार्क क्षेत्र झाडीले छोपिएको छ ।