सुनसरीस्थित वराहक्षेत्र मन्दिरको भेटी व्यववस्थापनका लागि जिल्लास्थित प्रशासन, सुरक्षा निकायका अधिकारी र सम्बन्धित पक्षको बैठकले व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेका छन् ।

आज शनिबार वृहत्तर वराहक्षेत्र विकास समितिको कार्यालय चतरामा बसेको प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान आयोग, स्थानीय पालिका प्रमुखहरुले वर्षौंदेखि व्यवस्थान हुन नसकेको वराहक्षेत्र मन्दिर र स्थानीय मठ, मन्दिरको भेटी व्यवस्थापन गर्ने सहमति जुटाएका हुन् ।

सहमतिपछि वराहक्षेत्रको भेटी वृहत्तर वराहक्षेत्र विकास समितिले नियमन गर्नेछ । जसका लागि समितिका अध्यक्ष भेटी व्यवस्थापन संयोजक रहनेछन् भने सदस्यहरुमा सम्बन्धित वडाका वडाध्यक्ष र वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्षसहित तीन सदस्यीय भेटी व्यवस्थापन समिति रहनेछ । हाल वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरे छन् । वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापा र वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठ छन् ।

यो समितिले नियमनका आवश्यक प्रावधान तयार गरी भेटी व्यवस्थापनको कार्य अघि बढाउने समितिका अध्यक्ष घिमिरेले जानकारी दिए ।

'स्थानीय मठ मन्दिरमा समितिको नाम गरी आर्थिक सङ्कलन गर्नु अवाञ्छनीय'

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले स्थानीय मठ मन्दिरमा समितिको नाम गरी आर्थिक सङ्कलन गर्नु अवाञ्छनीय हुने बताएका छन् ।

उनले व्यवस्थापन समिति, संरक्षण समितिलगायतका नाममा सामाजिक संस्था, गैरनाफामूलक, आर्थिक कारोबार नगर्ने संस्थाका रुपमा दर्ता भई आर्थिक कारोबार गर्ने, सहयोगका नाममा चन्दा सङ्कलन गर्ने, स्थानीय तह र निकायसँग कार्यक्रम माग गरी मुनाफा वितरण गर्नेलगायतका अवाञ्छित आर्थिक गतिविधि हुने गरेको बताउँदै उजुरी आए तत्काल कारबाही प्रक्रिया अघि बढाउने बताए ।

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी आचार्यसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख तिलक प्रसाईं, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, वडाध्यक्षहरु किसन थापा, होमप्रसाद गौतमलगायत सुरक्षा निकाय, कर्मचारी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।