धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) को अभियान ‘सुम्निमा–पारुहाङ प्रतिमा निर्माण’ मा धरान–१३ का दुई भूपू लाहुरे १ लाख ६० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । किरात राई यायोक्खा धरान–१३ द्वारा मंगलबार किराती नयाँ वर्ष यलम्बर सम्वत् ५०८४ को अवसरमा आयोजित ‘शुभकामना आदान प्रदान कार्यक्रम’मा बोल्दै उनीहरुले उक्त रकम दिने घोषणा गरेका हुन् । 

धरान–२० स्थित चिण्डे डाँडामा बनाउने भनिएको किरातीहरुको आदिम पुर्खा सुम्निमा–पारुहाङको प्रतिमा निर्माण अभियानमा भूपू सैनिक मार्ग निवासी पूर्व भारतीय गोर्खा सैनिक अनरी सुवेदार मेजर देशबहादुर राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र अमरहाट निवासी पूर्व बेलायती गोर्खा सैनिक डिबी थलुङले ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । 

उनीहरुले नगर प्रमुख साम्पाङको उक्त अभियानको प्रशंसा गर्दै किराती नयाँ वर्षकै अवसरमा आर्थिक सहयोग दिने घोषणा गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले सुम्निमा पारुहाङको प्रतिमा निर्माणमा सम्पूर्ण किरातीहरु लाग्नुपर्नेमा जोड दिए । संस्थाकी उपाध्यक्ष सुनिता राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार अनरी सुबेदार मेजर देशबहादुर राई, डिबी थुलुङलगायतले शुभकामना व्यक्त गरेका थिए ।

‘सुम्निमा–पारुहाङ प्रतिमा निर्माण’ अभियानमा आर्थिक सहयोग गर्न नगर प्रमुख साम्पाङले आग्रह गर्दै आएका छन् । उनले बैंक खाता नम्बर सार्वजनिक गर्दै मंगलबार संकलित रकमसमेत फेसबुकमार्फत सार्वजनिक गरेका थिए । सो खातामा हालसम्म १८ लाख रुपैयाँ बढी रकम संकलन भइसकेको छ ।