बराहक्षेत्र । गाउँ पसेको जङ्गली हात्तीको समूहले घर भत्काएपछि वराहक्षेत्र नगरपालिका वडा नं. २ रेल्वे लाइन बस्ने एक परिवारको बिचल्ली भएको छ । 

सोमबार मध्य राति दर्जन बढी सङ्ख्यामा आएको हात्तीको समूहले बाँस र खरले बनाएको टहरा पूर्णरूपमा भत्काएपछि बुद्धिबहादुर परियार घरबारविहीन बनेका छन् ।

राति आएका हात्तीले घरमा राखिएको एक मन धानलगायत भाँडाकुँडा, नुन, तेल, लत्ता कपडा र घरमा भएका सम्पूर्ण सामान नष्ट गरिदिएको दैनिक ज्यालादारी गर्ने वीरबहादुर परियारले बताए । वडाको करम खोलानजिकै रहेको स्थानीय भवानीप्रसाद गौतमको जग्गामा दुई साना बच्चा र श्रीमतीसहित बस्दै आएका परियारलाई अहिले जग्गा धनी गौतम र छिमेकीले खाना दिएर तत्कालको लागि राहत दिएका छन ।

राति घरअगाडि आगो बालेर भित्र पसेको तर आधा घण्टापछि आएको हात्तीको समूहले बारीमा लगाइएका केराका बोट भाँच्न थालेपछि  अँध्यारोमा परिवारसहित भागेर ज्यान बचाएको उनले बताए । हात्तीले घर पूरै भत्काएपछि खान र बस्नका लागि केही नरहेको उनले बताए । ‘अहिले हामीसँग केही छैन, न खाने अन्न, न सुत्ने ओछ्यान, भएको टहरा पनि भत्कियो’–वीरबहादुरले भने ।

हात्तीको समूहले खेतमा लगाएको २ सय बोट केरा नष्ट गरिदिएको स्थानीय भवानी गौतमले बताए । हात्तीको समूह सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरको पारितर्फ रहेको पुल्ठेगौंडामा गएर स्थानीय युवराज सिग्देल र गोमा कार्कीको करिब एक सय बोट केरा र १ कठ्ठामा लगाएको जै घाँस नष्ट गरेका छन् ।

यसैगरी जितबहादुर खड्काको अढाई कठ्ठामा लगाएको तोरी तहस–नहस गर्नुका साथै खड्काका छिमेकी सुनिता तामाङको २ कठ्ठा क्षेत्रमा लगाइएको मुला, तोरी र मकै बाली नाश गरेको पीडित सुनिताले बताइन् । गाउँमा एक डेढ घण्टा उत्पात मच्चाएपछि गाउँलेहरू रातभर सुत्न नसकेको पीडित सिग्देलले बताए । ३ दिनदेखि लगातार समूहमा आएका हात्ती अहिले कोशी नदी तरेर पारि उदयपुरतर्फ गएको गाउँलेले बताए ।

करिब २५ वटाको सङ्ख्यामा आएका हात्तीले मुनेश्वर बहरदारको घरको भान्सा घर र सुत्ने कोठाहरू भत्काइदिएका छन् भने टेलिभिजनसहित ५० किलो चामल, र करिब २० किलो आलुलगायत खाद्यान्न नष्ट गरिदिएको बहरदारले बताए ।

समूहमा धेरै छावा(हात्तीको बच्चा) र दाह्रा भएका दुईवटा हात्ती रहेको पीडितहरूले बताए । हात्ती कहिले राति १२ बजे त कहिले साँझ ७ बजे नै आउने हुँदा जाडोमा ढुक्क भएर सुत्न नसकी जाग्राम बस्नु परेको स्थानीयको भनाइ छ ।

हात्तीका कारण गाउँलेहरू त्रासमा बस्दा पनि सरोकारवाला मौन रहेको पीडितहरूको गुनासो छ । हात्तीले  स्थानीय पुनर्वासका दिनेश श्रेष्ठको टिनले छाएको एक तले घरको भित्ता भत्काएको छ भने २ दिनअगाडि बुना न्यौपानेको बारीमा लगाएको केरा र हीरामणि नेपालको भान्साघर नष्ट गरिदिएको स्थानीय दुर्गादेवी बुढाथोकीले बताइन् ।

सोमबार हात्तीले क्षति गरेको विषयमा बुझ्न वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम र प्रहरी तथा वडा सदस्यहरू आएको पीडितहरूले बताए । उनीहरूले आफूलाई तत्काल राहत चाहिएको बताएका छन् ।

hatti1