धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीमाथि अराजक गतिविधिसहितका पाँच गम्भीर आरोप लगाउँदै  कारबाही गर्न सम्बन्धि मन्त्रालयलाई पत्राचार गरेका छन् । 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै नगर प्रमुख साम्पाङले उपकुलपति प्रा.डा. कार्कीले कार्यकारणी समिति (कास) को बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नु पर्नेमा लुकिछिपी बसेको, आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका का.मु. उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको र प्रतिष्ठानमा अराजक गतिविधि गर्दै आएको प्रेषित पत्रमा उल्लेख गरेका छन् । 

नेपालको स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकासहित समग्र देशको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा गुणस्तरीय, विश्वासिलो सेवा दिने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल केही दिनदेखि प्रतिष्ठानको कायम मुकायमका कारण गतिरोध उत्पन्न भएको उल्लेख गरेका छन् । यी विषयका कारण प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई बिरामीको उपचार प्रभावित भएको, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भइरहेको हुँदा प्राडा कार्कीलाई झिकाई समस्याको समाधान गर्न पत्राचार गरेका छन् । 

‘तत्काल प्रतिष्ठानको कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तुरुन्त उपस्थित गराई हाल देखिएको विद्यमान समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन हुन अनुरोध छ ।’ नगर प्रमुख साम्पाङले सार्वजनिक गरेको पत्रमा भनिएको छ ।